अन्तर्राष्ट्रिय स्वर्ण जित्ने नेपाली बडी-बिल्डर मल्लिका

  •  
  •  
  •  
  •  
  •  
  •  

दुई वर्ष अघिसम्म उनी म्यानपावर कम्पनीमा काम गर्थिन् । अहिले उनको परिचय बदलिएको छ ।
बडी बिल्डर मल्लिका शाक्य नेपालका लागि अन्तर्रा्ष्ट्रिय स्वर्ण जित्ने खेलाडीका रूपमा चिनिन्छिन् ।

गत साता काठमाडौंमा आयोजित १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा २९ वर्षीया मल्लिकाले स्वर्ण जितेर इतिहास रचिन् ।


मोडल फिजिक विधातर्फ ‘बिकिनी’ मा स्टेजमा आएकी मल्लिकाको सुगठित शरीर र हाउभाउ सार्क राष्ट्रका अन्य प्रतिस्पर्धीभन्दा अब्बल ठहरियो । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उत्कृष्ट

प्रदर्शन गरेकी उनी यस्तो प्रतियोगितामा नेपालका लागि स्वर्ण जित्ने एक्ली महिला खेलाडी हुन् ।
कहिलेकाहीँ एउटा निर्णयले मान्छेको जीवनको बाटो मोडिदिन्छ ।

काठमाडौं, ढुंगेअड्डाकी मल्लिकाको जीवनको बाटो पनि एउटै निर्णयले परिवर्तन भयो । उनी चार वर्षअघि आफ्नो मोटाउँदै गएको शरीर देखेर आत्तिएकी थिइन् ।

‘२०७२ वैशाखमा भुइँचालो आएपछि एक महिना खाने÷बस्ने काम मात्र भयो । त्यति बेला एकैपटक १० किलोभन्दा बढी मोटाएछु,’ मल्लिका सम्झन्छिन्, ‘भुइचालो आउनुअघि जुन लुगा लगाउथेँ, त्यही लुगा ठिक हुन छाड्यो ।’

उनी पिरोलिएर तत्काल फिटनेस क्लब भर्ना भइन् । पहिलाको ‘स्लिम’ शरीर सम्झँदै क्लबमा आउने केटाहरूलाई समेत टक्कर दिने गरी ’वर्क आउट’ गर्न थालिन् । क्लब भर्ना हुने त्यही निर्णयले जीवनको लक्ष्य परिवर्तन गरिदिएको उनी बताउँछिन् ।

उनले तीन महिनामा १० किलो तौल घटाएर शरीरलाई पहिलेकै स्वरुपमा ल्याइन् । त्यति बेलासम्म उनी म्यानपावरमै काम गर्थिन् । एकदिन उनलाई लाग्यो, ‘कति अर्काको काम गर्नु, अब आफ्नै केही गर्नुपर्छ ।’

फिटनेस क्लबमा उनी जिमभन्दा बढी कार्डियोमा आकर्षित थिइन् । उनले छुट्टै कार्डियो कोर्स सुरू गरिन् ।

‘अरूको दबाबमा काम गर्न नपर्ने, इज्जत पाइने र धेरै मान्छेले चिन्ने भएकाले कार्डियो कोर्स गर्ने निर्णय गरेको थिएँ,’ मल्लिकाले सुनाइन्, ‘दुई वर्ष नियमित जिम र कार्डियो पनि गरेकाले होला, पन्ध्र दिनमै सबै विधि सिकेँ ।’

उनी लगत्तै ’कार्डियो’ प्रशिक्षक भइन् । उनको प्रशिक्षण यति मन पराइयो, बिहान र बेलुकी गरी १० घन्टाभन्दा बढी फिटनेस क्लबमा काम गर्न थालिन् ।

प्रशिक्षक भएपछि फेरि उनको शरीरको मोटाइ बढ्न थाल्यो । ‘बिहान/बेलुकी सिकाउथेँ, तर दिउँसो काम नहुँदा मोटाएँ,’ उनले भनिन् ।
उनी प्रत्येक सोमबार कालिमाटीस्थित डिभाइन फिटनेस क्लबमा ‘क्लास’ लिन्थिन् ।

एकदिन त्यही क्लबमा कार्यरत अन्तर्राष्ट्रिय पदक विजेता रुजेश शाहीले उनलाई बडी÷बिल्डिङ प्रतियोगितामा भाग लिन सुझाए ।

‘तपाईंको शरीर एकदम फिट छ । नेपालमा आयोजना हुने दक्षिण एसियाली बडी–बिल्डिङ च्याम्पियनसिप खेल्नुहुन्छ ?’ रुजेशको यस्तो प्रस्तावपछि मल्लिकाको दिमाग फनफनी घुम्यो । बडी–बिल्डर बन्नु र अझ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नु उनको सोचाइभन्दा परको कुरा थियो ।

उनले रुजेशलाई भनिन्, ‘अहिले मोटी छु । त्यति बेला फिट हुन्छु कि हुन्न ?’नियमित प्रशिक्षण गरे शरीर फिट हुन्छ भनेर रुजेशले हौसला दिए । मल्लिकाले भोलिपल्टबाटै प्रशिक्षण सुरु गरिन ्।

यो गत चैत महिनाको कुरा हो । उनले नुन र तेल खान छाडिन् । उसिनेको खानेकुरा मात्र उनको आहारा बन्यो । यसबीच बिहान–बेलुकी कार्डियो क्लास पनि जारी राखिन् ।

उनी यता अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मुख बार्न छाडेकी थिइन्, उता छोरीले नुनतेल खान छाडेको देखेर आमा चिन्तित भइन् ।

‘मलाई बडी–बिल्डिङमा लाग्न कहीँकतै रोकतोक थिएन, तर दालभात र नुनतेल नै खान छाडेको देखेर आमा पिर मान्नु हुन्थ्यो,’ उनले भनिन्, ’खानै नहुने कस्तो खेल हो भन्नुहुन्थ्यो ।’

उनलाई पनि जे पायो त्यही खान नपाउँदा कहिलेकाहीँ प्रतियोगितामा भाग नलिउँ कि जस्तो हुन्थ्यो । बेलाबेला आउने यस्तो सोचाइलाई आफ्नो दृढताले छोपेर उनी अघि बढ्थिन् ।

प्रशिक्षणकै क्रममा उनले वैशाखमा आयोजित मिस्टर हिमालयन बडी–बिल्डिङ च्याम्पियनसिपमा भाग लिइन् । त्यो उनले भाग लिएको पहिलो प्रतियोगिता थियो । उनी पहिलो सहभागितामै आफ्नो वर्गमा चौथो भइन् ।

राष्ट्रिय प्रतियोगितामा चौथो भएपछि उनको ध्यान अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा जसरी पनि पदक जित्नेमा केन्द्रित भयो ।

‘अन्तर्रा्ष्ट्रिय खेल भएकाले कडा वर्कआउट गर्न थालेँ,’ मल्लिका भन्छिन्, ‘प्रतिस्पर्धी कस्ता आउँछन् थाहा नभएकाले बढी नै मिहिनेत गर्नुपरेको थियो ।’

चार महिनाको कडा परिश्रमपछि गत साउन ४ गते उनले कमलादीस्थित प्रज्ञा भवनमा ‘बिकिनी’ मा आफ्नो सुगठीत शरीर स्टेजमा प्रस्तुत गरिन्। ‘खुब नर्भस भएर होला, मैले स्टेजमा कसैलाई देखिनँ। आफ्नो शरीरमै केन्द्रित भएर कला देखाएँ,’ उनले भनिन्।

उनको प्रस्तुतिमा दर्शकदिर्घाबाट लगातार हुटिङ भइरहेको थियो। प्रस्तुति सकेर फर्किएपछि उनलाई धेरैले बधाइ दिए।

‘मलाई भने मेडल जित्छु कि जित्दिनँ भन्ने धुकचुक थियो,’ उनले जीवनकै अविश्मरणीय क्षणको व्याख्या गरिन्, ‘मभन्दा सिनियर खेलाडी प्रतिस्पर्धी थिए। त्यसैले स्वर्ण नै जित्छु भन्ने आत्मविश्वास थिएन। कुनै न कुनै पदक जित्छु भन्ने चाहिँ लागेको थियो।’

निर्णायकले सुरूमा तेस्रो पदक जित्ने खेलाडीको नाम लिए। उनी त्यसमा परिनन्। त्यसपछि घोषित दोस्रो स्थानमा पनि उनको नाम आएन।

उनलाई कताकता स्वर्ण नै जितेछु कि भन्ने लाग्यो। नभन्दै स्वर्ण जित्ने खेलाडीका रूपमा उनकै नाम घोषणा भयो।

दक्षिण एसियामा स्वर्ण जितेपछि अब उनी एसिया(प्यासिफिक र एसियन बडी(बिल्डिङ च्याम्पियनसिपको तयारीमा जुटिसकेकी छन्। ‘मेरो लक्ष्य भनेको जतिसक्दो धेरै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्ने हो,’ चार महिनामै बडी(बिल्डिङ खेलाडीको परिचय बनाएकी मल्लिकाले भनिन्।

बडी(बिल्डिङमा लागेपछि सोचाइ र आत्मविश्वासमा परिवर्तन आएको उनको अनुभव छ। ‘यो क्षेत्रमा लागेर आफू बलियो भएको महशुस हुन थालेको छ,’ मल्लिकाको भनाइ छ, ‘आफैंले केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ।’

कतिपय केटी साथीहरू उनलाई ’हाम्रो सुरक्षा दिन सक्छेस्’ भनेर जिस्क्याउँछन्। ‘तैंले पाँच(छ जना केटाहरू त सजिलै कुट्छेस् होला है’ भनेर पनि भन्छन्।

हुन पनि राति अबेर हिँड्दा उनलाई डर लाग्न छाडेको छ। पार्टीबाट फर्कंदा घर पुर्याइदिन प्रस्ताव गर्नेहरूलाई भन्छिन्, ’पर्दैन। म आफैं जान सक्छु।’ सेतोपाटीबाट