अभ्यास खेलमा नेपालद्वारा यूएई पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / नेपालले विश्वकप छनोट क्रिकेटको पहिलो अभ्यास खेलमा सफलता हात पारेको छ । जिम्बावेमा मंगलबार भएको अभ्यास खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्‍यो ।

दुई साता अघिमात्र नेपाल विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा यूएईसँग ७ रनले पराजित भएको थियो । त्यही फाइनल पुग्दै नेपाल र यूएई विश्वकप छनोटमा पुगेका थिए , कान्तिपुर दैनिकमा खबर छ ।
क्वे क्वेमा टस जितेको यूएई वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो । नेपालले ४ बल अगाडि नै लक्ष्य पुरा गर्‍यो ।
यूएईबाट अस्फाक अहमदले ४२, अड्नान मुफ्टीले ३७, गुलाम सब्बरले ३२ र मोहम्मद उसमानले २६ रन बनाए । नेपालबाट ललितसिंह भण्डारीले ६ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए । करण केसीले ३, ललितनारायण राजवंशीले २ र कप्तान पारस खड्काले १ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले समान ४१ रन बनाएपछि नेपालको जित सम्भव भएको हो । दीपेन्द्रले ३२ बल खेली ४ चौका र १ छक्का प्रहार गरी आउट भए । ५४ बल खेलेका शरद १ छक्का प्रहार गरी नटआउट रहे । उनीसँगै आरिफ शेख १५ बल खेली २ चौका र १ छक्का प्रहार गरी २३ रनमा नटआउट रहे ।
माथिल्लोक्रममा सुनिल धमला ४, ज्ञानेन्द्र मल्ल ३ चौका प्रहार गरी १२, पारस ३९ बलमा २८ र अनिल शाह ११ बल आउट भएका थिए । यूएईका आमिर हायतले २ विकेट लिए ।
नेपालले बिहीबार हङकङसँग दोस्रो अभ्यास खेल खेल्ने छ । नेपालले आइतबार विश्वकप छनोटमा आयोजक जिम्बावेसँग पहिलो अभ्यास खेल खेल्ने छ ।