इटहरीमा १२६ जेष्ठ नागरिकले गराए स्वास्थ्य परीक्षण

  •  
  •  
  •  
  •  
  •  
  •  


इटहरी / जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सोमबार इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १२६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ल्याव सेवा र औषधी पनि निशुल्क गरिएको छ ।

विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा. रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेस कुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा. आश्विनकुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।

६० वर्ष माथिका जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण शिविर राखिएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी उपमहानगकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उद्घाटन गरेकी थिइन् ।

दिनभर पानी परेपनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पतालका अध्यक्ष भुपेन्द्र बरालले वताए ।

यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १,३,१२,१६ र १७ नम्वर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । पाँच ठाँउमा भएका शिविरमा २५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आफनै गाउँ ठाँउमा उपमहानगरले निशुल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुसी भएका छन् ।

जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटेका थिए ।