उर्लाबारी नगरपालिकाको काम सुचारु

  •  
  •  
  •  
  •  
  •  
  •  


उर्लाबारी / एकमहिनादेखि रोकिएको मोरङको उर्लाबारी नगरपालिकाको सम्पूर्ण सेवाहरु सोमबारदेखि सुचारु भएको छ ।

नगरकार्यपालिकाले बैठक बसी आर्थिक वर्ष २०७५÷०७६ का लागि नगरसभामा निर्णय भएबमोजिम कामकारबाही अगाडि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए ।

उच्च अदालतबाट अन्तिम फैसला नहुँदासम्मका लागि आर्थिक वर्ष २०७५÷०७६ का लागि नगरसभामा निर्णय भए बमोजिम कामकारबाही अगाडि बढाउने निर्णय भएको हो ।

अदालतमा बिचाराधिन रहेको विषयमा अदालतको अन्तिम फैसला भएपछि सोही बमोजिम कामकारबाही गर्ने÷गराउने समेत कार्यपालिकाको बैठकले निर्णय गरेको रेग्मीले बताए ।

गत बिहीबार संघीय सरकारले उर्लाबारी नगरपालिकामा सेवा प्रवाहलाई नियमित गर्न÷गराउन पत्र पठाएको रेग्मीले उल्लेख गरेका छन् ।

गत असार २९ गते बसेको चौंथो नगरसभाद्वारा पारित आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट, नीति तथा कार्यक्रम तत्कालका लागि कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएपछि एक महिनादेखि नगरपालिकाको सम्पूर्ण कार्यहरु ठप्प भएको थियो ।

नगरपालिकाको काम ठप्प भएपछि सेवाग्राहीहरु नराम्ररी प्रभावित भएका थिए । नगरपालिकाको काम अवरुद्ध भएपछि स्थानीय वासिन्दाले काम सुचारु गर्न माग गर्दै बिभिन्न नारावाजीसहित आन्दोलन गर्दै आएका थिए ।

स्थानीय वासिन्दाले नगरपालिकाको कार्यालयमा पटकपटक तालाबन्दीको प्रयास समेत गरेका थिए ।