कनकाईका १३५ विपन्नलाई बाँढियो निःशुल्क विद्युत् मिटर

  •  
  •  
  •  
  •  
  •  
  •  


सुरुङ्गा / नेपाल विद्युत् प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरीब तथा विपन्न १३५ परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।

नगरपालिका क्षेत्रभित्रका सबै वडामध्येबाट ९ वटा वडाका गरीब घरपरिवारको पहिचान गरी निःशुल्क मिटर प्रदान गरिन लागेको हो ।

पहिलो चरणमा नगरले वडानम्बर १ , २ र ३ का १३५ जनालाई मिटर प्रदान गरेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

केही दिनभित्रै नगरपालिकालाई उज्यालो नगरको रुपमा समेत घोषणा गर्न लागिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

कनकाई नगरपालिकालाई केही महिना पहिले मात्रै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै पहिलो विद्युत् चुहावतमुक्त पालिका घोषणा गरेका थिए । चुहावटमुक्त पालिका घोषणापछि नगरपालिकालाई विद्युत् प्राधिकरणले गरीब परिवारका लागि निःशुल्क विद्युत् मिटर खरीदका लागि ३० लाख रुपैयाँ विनियोजिन गरेको थियो ।

विद्युत् मिटर लिएपछि जग्गाको धनीपूर्जा नहुँदा तथा आर्थिक कारणले घरमा मिटर जोड्न नपाएकाले मिटर जडान गर्न पाएको नेपाल विद्युत् प्राधिकरण उज्यालो नेपाल परियोजनाका कानून अधिकृत निलकण्ठ शर्माले बताए ।

कनकाई नगरपालिकाका १, २ र ३ नम्बर वडाका गरीब स्थानीयलाई सोमबार नगरप्रमुख पोखरेलसहित नेपाल विद्युत् प्राधिकरण उज्यालो नेपाल अभियानका निर्देशक राजनऋषि कडेँल, कानुन अधिकृत शर्मा, कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाईं, वडाध्यक्ष रुद्रप्रसाद चिमरिया, रोशनराज पोखरेल, परशुराम गिरी लगायतले मिटर हस्तान्तरण गरेका थिए ।