कविता- कृष्णप्रसाद पाठक

  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रा वारेमा बोलेका कुरा …….!!!

गणतन्त्र नै अभिशाप हो कि
मान्छेको प्रवृत्ति अभिशाप हो ?
जुन थालमा खायो
फर्केर त्यसैमा फोहोर गर्ने
या बहुलठ्ठीपन हो कि वा छाडापन हो
आज मुकदर्शक बन्नु परेको छ ।

कृष्णप्रसाद पाठक /श्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।

जनताले भोट मार्फत अनुमति दिएकै हुन्
सर्वसत्तावाद, यथास्थितिवाद विरुद्ध
आवाज बुलन्द गर्न
सर्वस्वीकार्य थिति बसाल्न
विशेषतः कानुनी राज्यको
स्थापनार्थ विश्वास गरेकै हुन् ।

चिसो चुलो र चिसो ओछ्यानको
कालो युग समाप्त पारेर
काखा र पाखा कतै नगरी समदृष्टि
धरहरा झै उभिन्छ नै भनेर
त्याग र बलिदान दिएकै हुन्
रागी अशक्त अपाङ्गहरुले पनि
तिम्रा आवाजमा आवाज थपेकै हुन् ।

उन्का स्वरमा कोशी, गण्डकी कर्णाली झैँ
मान्छेका लहरहरु उर्लेकै हुन्
अजङ्गका पहाडहरु पनि
होस्टेमा हैँसे गर्दै भत्काएकै हुन्
गगनभेदी नाराहरुले
देश परदेश गुञ्जाएकै हुन्
तिम्रै सुरक्षा गर्दा गर्दै
कैयौँ मान्छे रुख झै ढलेकै हुन् ।

आज तिमी मात्तिएका छौ पात्तिएका छौ
भोटको बद्लामाचोट मात्र दिएकै हौ
दिनहुँ निरापराधहरु मारिइरहँदा
तिमीले नदेखे झैँ गरेकै हौ
पद र पैसाले तिम्रो शक्तिशाली मगजमा
विर्काे लगाइ दिएकै हुन्
भोट जनताको सुविधा आफन्तको
यो नौटङ्गी पनि तिमीले गरेकै हो ।

अब त हजार लाखले काम चल्दैन
करोड भन्दा तल हेर्दैनौ
आफ्नै देशको उपचार विधिलाई
तिमी रत्तिभर विश्वास नै गर्दैनौ
खोला नाला बन जङ्गल
जगर बगर पाखा पखेरी
तिमै बपौती कै विरासद भएको छ
मुसदण्डलाई अघि सारेर
आस्था र विश्वासमा प्रहार गरिरहँदा
शरीरको कुनै कुनाबाट दया पलाउदैन ।

खवरदार भन्नू हुदैन मार्न आए झैँ ठान्छौ
होसियार भन्नू हुँदैन बन्दुक तेस्र्याएको नै ठान्छौ
अब कसरी तिमीहरूलाई आफ्नो भन्नू ?
आफ्नो भन्ने नाता सबै सकेकै छौ
तिम्रो पछि लागेर के गर्नु र
स्याल साँढेको पछि हिडे झैँ छ ।

आफैले भएका सम्बन्धहरुमा आगो लगायौ
आस्थालाई शक्तिको उन्मादमा लत्यायौ
हनुमान बनाउन खोज्यौ विश्वासलाई
तर तिमी आफै नराम्ररी नाङ्गियौ
पिस्कर, छिन्ताङ, झापा र ओखलढुङ्गाले
अब तिम्रो निन्द्रा विथोल्नेछन्
आफैँ मात्र खाउँ लगाउँ भन्ने भष्मासुर विचार
घैला फूटेर छताछुल्ल भए झैँ पोखिने छ
त्यतिखेर तिम्रो साथमा आफन्त पनि हुदैनन्
भूइमा लड्यौ भने उठाउन कोहि आउँदैनन्
खोक्रो आडम्बरको छाला ओडेर
सिंह बन्न खोज्दैछौ
दाँत र नग्रा केही नभएको बुढो सिंह
बालकथाको कार्टुन जस्तै हुनेछौ
सडक पेटीमा नितान्त एक्लै
झोक्राएर लखर–लखर हिड्नेछौ ।

समयले अझै नेटो काटेको छैन
विचार र आस्थालाई अझै मलजल गर्न सक्छौ
विग्रिएका सम्बन्धहरुलाई ब्युताउन सक्छौ
व्यक्तिको संस्था हैन संस्थाको व्यक्ति बनेर
कुँडा कर्कट, स्वार्थ र स्वार्थी मिल्काएर
तिमी कालजयी इतिहास बन्न सक्छौ
मैले त खवरदारी मात्र गरेको हुँ
आगे के गर्न सकिन्छ त्यो आफैँ भन्नेछौ ।
जदौ
कृष्णप्रसाद पाठक