कविता – घटना ! घटना !! घटना !!!

  •  
  •  
  •  
  •  
  •  
  •  


कृष्णप्रसाद पाठक –

कोपिलामा रङ्ग भर्दै फूल बनेर फक्रिन्छ
र त सबैका आँखा त्यतैतिर तानिन्छ
टपक्क टिपेर तिनै रङ्गिन फूलहरु
या मन्दिरमा या लासमा चडाईन्छन्
जहाँ चढे पनि के फरक हुँदो रहेछ र
लासमा भए जलेर खरानी हुन्छ
मन्दिरमा भए वासी भनेर फालिन्छ ।

अर्थ त फूललाई फूलकै बोटमा हुँदा हुन्छ
तर त्यहाँ पनि त भमराले पेवा झैँ ठान्छ
नफूल्दा कोपिला मै झरिन्छ कि भन्ने डर
फूल्दा पनि यहाँ कोही कसैको छैन भर
बोट नै नभई दिएको भए के हुन्थ्यो होला
यो पनि त आज बहसको सवाल बनेको छ ।

चिचिला मै क्रुरतापूर्वक निमोठिए नरपशुबाट
कति यौवनमा टेक्दा टेक्दै निमोठिए
अशक्त बृद्भाको झन के कुरा रह्यो र
चाउरी परेको तन विजोकले चिथोरिए
हेर्ने टुलुटुलु हेरी मात्र रहन्छन किनकी
प्रतिवाद, झमेला बनी दिन सक्छ भनेर
नियम कानुनको डाडु पन्युँ समात्नेले
एकाध यस्ता घटनाहरु घटिहाल्छन नि भन्छ ।

सदाका लागि कामुकताको जरो उखालेर
बलेको आगोमा फ्याकी दिन मन लाग्छ
हे सृष्टिकर्ता ! लिङ्ग परिवर्तन गरि देउ
अनि थाहा होला पिडित हुँदाको चीत्कार
कति भयानक,बीभत्स र पिडादायी हुन्छ !?

दुरात्मासँग साँच्चै हिम्मत छ भने
बघिनी,सिंह र अर्नालाई लुट्न जाओ
जङ्गली हात्ती,कुकुर र गैँडाका विचमा
तिन्लाई लुट्न धावा बोल्दै नजिक बोलाओ
हैन भने ए नामर्द,लाक्षी,कायरहरु हो
यो दशा तिम्रै घरभित्र पनि पस्न सक्छ
तिम्रै सामुन्ने तिम्रो रगतको डल्लालाई
फँडा फूलाएर विजोकले डस्न सक्छ
जस्लाई डसे पनि डसिनेको जात एउटै हो
चिर हरण पछि हुने घात पनि एउटै हो ।

फूल बनेर फूली दिनु अधिनको कुरा होइन
चिचिला,यौवना,केही यहाँ सुरक्षित छैन
हरेक दिन घटना घटिरहन्छन् नियन्त्रण किन हुँदैन
गरिवका घरमा काल पस्छ ठूलाबडालाई किन छुँदैन ।

समाजको कसिंगर हो अपराधी बढारेर डढाउनु पर्छ
स्त्रिजन्य धर्साे देख्नु भएन लुट्ने बहाना हरेक हुन्छ
राज्यले न्याय दिदैन भने अब कानुन हातमा लिनुपर्छ
नरपशुलाई बली दिँदा हेरौँ कुन शक्तिले के गर्छ ??????