‘कानून मिच्न उद्यत कम्युनिष्ट सरकार’–सिटौला

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार सम्पूर्ण ऐन, नियम, विधि र कानून मिच्न उद्यत रहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसमा आबद्ध नेपाल चिया बगान श्रमीक संघको प्रथम जिल्ला परिषद् भेलामा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले मौलिक हकमा व्यवस्था भएको जनअधिकार कार्यान्वयन गर्न सरकार असफल भएको बताए ।

बहुमतको दम्भमा सरकार अन्धो भएको टिप्पणी गर्दै नेता सिटौलाले सरकारको एकदलीय तानाशाही सोच बदल्न मजदुरले पुनः एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नभएको धारणा राखे ।

‘विगतमा पनि मजदुरको एकता र आन्दोलनकै कारण लोकतान्त्रिक शासन व्यवस्था आएको थियो, लोकतन्त्र प्राप्तिपछि बनेको संविधानले मजदुरका अधिकार सुनिश्चित गरेको छ’ नेता सिटौलाले भने, ‘तर सरकार कानुनले सुनिश्चित गरेका मजदुरका हक अधिकार कार्यान्वयन गरिरहेको छैन, अब अधिकार प्राप्तिका लागि ट्रेड युनियनले विशेष पहल थाल्नैपर्छ , आन्दोलनको विकल्प छैन ।’

‘संविधानले मजदुरको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, भोजन लगायतका आधारभूत आवश्यकता पूरा गर्ने सुनिश्चितता गरेको छ’ नेता सिटौलाले भने, ‘संविधानमा सुनिश्चित अधिकार प्राप्तिका लागि अब ट्रेड युनियनले विशेष पहल थाल्नुपर्छ ।’

संविधान जनताका लागि नभएर सत्तामा बस्नेहरुका लागि मात्रै भइरहेको टिप्पणी गर्दै उनले प्रश्न गरे, ‘आफूलाई सर्वहारा वर्ग र मजदुरका नेता हौँ भन्ने प्रधानमन्त्री/मन्त्रीहरु ४४ दिनसम्म चिया मजदुरले आन्दोलन गर्दैगर्दा कहाँ थिए ? कुनै मन्त्रीले मजदुरका हकहितमा केही बोले ?’

उनले चिया बगानका प्रत्येक एकाइमा श्रमिक संस्था गठन गरेर स्थानीय, प्रदेश र केन्द्रीय सरकारका गतिविधिबारे छलफल र चेतना अभिबृद्धि गर्ने कार्यक्रम अघि बढाउन समेत मजदुर नेतालाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, ट्रेड युनियन कांग्रेसका नेताहरु नारायणबाबु कार्की, महेन्द्रप्रसाद यादव, उर्मिला पोखरेल, देउकुमार थेवे, यज्ञप्रताप अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै मजदुरको सूचीकरण र श्रम ऐनमा तोकिएको ज्याला कार्यान्वयन नभए आन्दोलनमा जानुको विकल्प नभएको धारणा राखेका थिए ।

कार्यक्रममा चिया क्षेत्रका समस्या सञ्चारमार्फत उठाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कान्तिपुर दैनिकका झापा संवाददाता अर्जुन राजवंशीलाई सम्मान गरिएको थियो ।

सम्मानित राजवंशीलाई प्रमुख अतिथि सिटौलाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला लगायतको सहभागिता थियो ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि भुजेल र सञ्चालन मिलन राईले गरेका थिए ।

परिषद् भेलामा संघका महासचिव जीवन खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै श्रम ऐन अनुसार न्युनतम ज्याला कार्यान्वयन नभएका चिया बगानमा ज्याला कार्यान्वयन गर्न, महंगी, भ्रष्टाचार, कालोबजारी रोकेर रोजगारीको सिर्जना गर्न तथा श्रमिकलाई पान नं लिनैपर्ने बाध्यकारी नियम कार्यान्वयन नगर्न सरकारसँग माग गरिएको छ ।