किशोरी अपहरणमा संलग्न पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ /  मोरङको सुनवर्षी नगरपालिकाकी एक किशोरीको अपहरणमा संलग्नमध्येकी एक महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पीडितको उजुरीका आधारमा प्रतिवादी मध्येकी ३६ वर्षीया गीता रिसिदेवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

गत २ फागुन राति सुनवर्षी नगरपालिकाकी १५ वर्षीया किशोरी घरबाटै अपहरणमा परेकी थिइन् । अपहरणपछि रंगेली प्रहरीले पीडितको जाहेरीका आधारमा अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी गरेको विषयमा अनुसन्धान थालेको थियोे ।

अनुसन्धानकै क्रममा किशोरीलाई अपहरणमुक्त गर्न सफल भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा नौ जनाको समूह मिलेर किशोरीको अपहरण गरी भारतको विभिन्न शहरमा लगी करणी गरेको पाइएको छ ।

यस्तै, ३ सय जनासम्मलाई खुवाउनका लागि रोटी बनाउन लगाउने, शरीरका विभिन्न भागमा तातो पन्यूले डाम्नेलगायतका यातना दिने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

पीडित किशोरीकी हजुरआमाले नातिनीलाई पाँच महिनापछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पन्जाबबाट उद्धार गरिएको बताइन् ।