कृषिको आधुनिकीकरण आवश्यक : मन्त्री कार्की

  •  
  •  
  •  
  •  
  •  
  •  


दमक / प्रदेश– १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कृषिको आधुनिकीकरणले मात्र समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने बताएका छन् । मन्त्री कार्कीले कृषिमा आधुनिकरण गर्नतर्फ सवै लाग्नु पर्ने पनि बताए ।

झापाको गौरादह नगरपालिका –५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको शनिबार १७ औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री कार्कीले कृषि क्षेत्रबाट देशको समृद्धिको लक्ष्यमा सघाउ पु¥याउन सकिने भएकाले त्यसका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताए ।

देशलाई विकाससँगै आर्थिक समृद्धिमा अगाडि लैजान कृषि क्षेत्रमा आधुनिककरण गर्न आवश्यक भएको उनको भनाइ थियो ।

कृषि उत्पादनसँगै पर्यटन, प्रर्वद्धनको क्षेत्रमा सहकारी क्षेत्रले पनि काम गर्नुपर्ने चर्चा गर्दै मन्त्री कार्कीले भने, ‘कृषि निर्भरतालाई माथि उठाउन जरुरी छ, त्यसका लागि प्रदेश सरकारले प्राथमिकता दिएको छ ।’

कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह, उपप्रमुख गीता भेटवाल, वडाध्यक्ष छत्रपति सुवेदी, साना किसान लघुवित्त बित्तिय संस्थाका इलाका प्रवन्धक सुवास गौतम, महारानीझोडा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मित्रदेव काफ्ले लगायतले कृषिको आधुनिकीकरणका लागि संस्थाले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा संस्थाले यसैवर्षदेखि सुरु गरेको कृषि सहकारी पत्रकारिता पुरस्कार पूर्वसन्देश दैनिकका सम्वाददाता गोपाल झापालीलाई प्रदान गर्नुका साथै ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट ऋणी, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तानलाई समेत पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कृषिको आधुनिकीकरण गरि आयआर्जन बृद्धिसँगै कृषि पर्यटनको क्षेत्रमा समेत विकास गर्दै आएको संस्थाका प्रवन्धक चिरञ्जीवि भण्डारीले बताए ।