गोपीकृष्णले दिए वडा कार्यालयलाई एक करोडको जग्गा

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / बिर्तामोड नगरपालिका–६ नम्बर वडा कार्यालय भवनका गोपीकृष्ण प्रसाईंले बुट्टाबारीको ३ कठ्ठा जग्गा दान गरेका छन् ।

प्रसाईंले आफ्ना दिवंगत बुबा–आमा जयेन्द्रप्रसाद र धनमाया प्रसाईंको स्मृतिमा वडा कार्यालयको लागि जग्गा दिएका हुन् ।

प्रसाईंले वडा कार्यालयलाई प्रदान गरेको जमिनको धनीपूर्जा आज आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालाई हस्तान्तरण गरे ।

वडा कार्यालयद्वारा स्थानीय हरिहर आश्रममा आयोजित कार्यक्रममा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यता विर्तामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटीको उपस्थितिमा वडाध्यक्ष कन्दङ्वालाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले वडा कार्यालयले अर्काको घरमा बसेर सेवा प्रदान गर्नु परेको अवस्थामा निःशुल्क जग्गा प्राप्त गर्नु ठूलो उपलव्धि भएको बताए ।

प्राप्त जग्गामा १ वर्षभित्र भवन निर्माण गरेर त्यहीँबाट सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ ।
उचित समयमा वडालाई जग्गा प्राप्त भएको छ सांसद कार्कीले भने बजेट विनियोजन गर्दा जग्गा प्राप्त गरेका वडाको भवन निर्माणमा विशेष ध्यान दिनुपर्छ ।

नगरप्रमुख शिवाकोटीले जग्गा अभावका कारण वडाका भौतिक संरचना निर्माण गर्न नसकिरहेकोे बताए । वडालाई जग्गा प्राप्त हुनु नगरका लागि ठूलो उपलब्धि भएको बताउँदै छिटो संरचना निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जग्गादाता गोपीकृष्ण प्रसाईले वडाले जग्गा ग्रहण गरेर आफूलाई ठूलो अवसर दिएको धारणा राख्दै दान गरेको जग्गामा चाँडै भवन निर्माण भएर वडावासीलाई सेवा प्रदान गरेको हेर्न चाहेको बताए ।

नेकपाका बिर्तामोड नगर प्रमुख ज्ञानुराम प्रसाईले अहिलेको समयमा पनि एक करोड मूल्य माथिको जग्गा दान गर्नु चानचुने कुरा नभएको टिप्पणी गरे ।

वडाध्यक्ष कन्दङ्वाले तीब्रत्तर शहरीकरणले विर्तामोडमा जग्गा खुम्चदै गएको बेला मूल्यवान जग्गा प्रदान गरेर प्रसाईंले समाजसेवाप्रति अरुलाई पनि प्रेरणा दिएको बताए ।

एल्विन्द्र खत्रीले सञ्चालन गरेको कार्यक्रमको औचित्य महिला वडासदस्य पवित्रा ढुङ्गनाले प्रकास पारेका थिए भने स्वागत शोभा विकले गरेका थिए ।