चुस्तदुरुस्त प्रविधिमा जोड, क्यान महासंघ अध्यक्षमा राजु

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / इन्फरमेसन कम्युनिकेशन टेक्नोलोजी(आइसीटी) को विकास र प्रबद्र्धनका लागि खोलिएको संस्था कम्प्युटर एसोसिएशन महासंघ नेपाल (क्यान) झापा शाखाले नयाँ नेतृत्व पाएको छ । क्यानको शनिबार बिर्तामोडमा सम्पन्न पाचौँ सभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व छानिएको हो ।


राजु श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । निवर्तमान अध्यक्ष लक्ष्मीकान्त खनालले २ वर्षअघि पाएको जिम्मेवारी शनिबार श्रेष्ठ नेतृत्वलाई हस्तान्तरण गरेका हुन् ।

क्यान महासंघ झापाको नयाँ नेतृत्वमा शुभ कुमाईं पाठक उपाध्यक्ष, कुष्ण घिमिरे सचिव, विनोद प्रधान कोषाध्यक्ष र रोशन बुढाथोकी सहसचिवमा चयन भएका छन् ।

चित्राङ्गद तिम्सिना, लोकनाथ खनाल, योगेन राजवंशी र डिल्लीराम अधिकारीले सदस्यको जिम्मेवारी पाएका छन् । अधिवेशनले ८ सदस्यीय महाधिवेशन प्रतिनिधि पनि छनोट गरेको छ । अधिवेशन ५४ वटै जिल्लामा भदौ २५ गतेभित्र गरिसक्ने क्यानको कार्यतालिका छ ।

अधिवेशन भदौ गतेबाट सुरु भएको हो । झापाले निर्धारित मितिको पहिलो दिननै अधिवेशन गरेर नयाँ नेतृत्व छानेको हो ।

के हो क्यान ?

सूचना प्रविधिसँग आबद्ध रहेका व्यवसायिक र पेशागत व्यक्ति तथा संस्थाहरुको छाता संगठन हो, क्यान महासंघ । विशेषतः सूचना प्रविधिका क्षेत्रमा सप्ट्वेयर र हार्डवेयर निर्माण गने, राज्यलाई नीति निर्माणको क्षेत्रमा सहयोग गर्दै सबै क्षेत्रलाई प्रविधिमैत्री बनाउन पैरवी गर्ने संस्थाको रुपमा क्यान महासंघ चिनिन्छ ।

क्यानको केन्द्रीय समितिले सूचना प्रविधिको विकास र प्रवद्र्धनका लागि काठमाडौँमा हरेक वर्ष क्यान इन्फोटेक मेलाको आयोजना गर्दै आएको छ ।

क्यान झापाको स्थापना

२०६९ सालमा क्यान झापा शाखाको स्थापना भएको हो । स्थापनादेखि आइटीको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको क्यान झापा शाखामा तीनजनाले नेतृत्व गरिसकेका छन् ।

झापा शाखाको संस्थापक अध्यक्षको रुपमा क्वालिटी कम्प्युटरका सञ्चालक दिपेश पाठकले जिम्मेवारी सम्हाले । क्यानको दोस्रो कार्यकाल भूपेन्द्र मैनालीले सम्हाले ।

उनी प्रथम आइटीका सञ्चालक हुन् । लक्ष्मीकान्त खनाल तेस्रो अध्यक्ष बने । उनी आइआइएचटीका सञ्चालक हुन् ।

के गर्छ क्यानले ?

संस्थापक अध्यक्ष पाठकको कार्यकालमा क्यानले बिर्तामोडमा आइटी मेलाको आयोजना गरेको थियो । त्यसयता, क्यान झापाले सरकारले तोकेको सूचना प्रविधि दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

जिल्लाका विभिन्न स्थानमा सीसी टिभी जडान गरी जिल्लामा सुरक्षा व्यवस्था कायम गर्ने नेवेल टेक्नोलोजी सिस्टम बनाउन पहल गरेको छ ।

जिल्लामा साइबर कानुन तथा साइबर अपराध, सुरक्षा सम्बन्धी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, जिल्लाभरका वित्तीय कारोबार गर्ने संस्थाको सहभागितामा आइसीटी सेमिनार सञ्चालन गर्दै आएको छ ।

काठमाडौँमा आइटी पार्क बनाउने अभियान, आइटीका उत्पादनलाई विगत १७ वर्षदेखि इन्फोटेकको माध्यमबाट चेतनामूलक कार्यक्रम क्यानले गर्दै आएको छ ।

क्यानमा आबद्धता

केन्द्रमा सन् १९९२ मा स्थापना भएको क्यान महासंघको झापा शाखामा संस्थागत र व्यक्तिगत गरी ७९ जना सदस्य रहेको कम्प्युटर एसोसिएशन महासंघ प्रदेश–१ का उपाध्यक्ष भूपेन्द्र मैनालीले जानकारी दिए ।

हाल क्यान महासंघका सातवटै प्रदेशमा प्रदेशस्तरीय समिति रहेका छन् । साथै ५४ जिल्लामा जिल्लास्तरीय समिति रहेका छन् ।

क्यानको समितिमा कम्प्युटर व्यवसाय गर्ने, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लगायत आइटीसँग सम्बन्धित संस्था र व्यक्ति सदस्य हुने गरेका छन् ।

संस्थाको तेस्रो अधिवेशनको उद्घाटन झापा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले गरेका थिए ।

अधिवेशन उद्घाटन गर्दै पोर्तेलले डिजिटल नेपाल निर्माण गर्ने तर्फ क्यान महासंघले पहल गर्नु पर्नेमा जोड दिए । उनले हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै ‘पेपरलेस’ बनाउनेतर्फ पहल गर्न क्यानलाई आग्रह गरे ।

पोर्तेलले अब परिवर्तनका लागि लड्ने बेला सकिएको भन्दै नेतृत्वलाई गाली गलौज गर्ने भन्दा सूचना प्रविधिलाई चुस्तदुरुस्त बनाउन लाग्नु पर्ने बेला आएको अनुभव राखे ।

खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश–१ का उपाध्यक्ष मैनाली, क्यानका पूर्व केन्द्रीय सदस्य राम राई, केन्द्रीय सदस्य ठाकुर श्रेष्ठ, प्रदेश सचिव भव तिम्सिना लगायतले बोलेको क्यान सचिव रोशन दाहालले बताए ।