कट्टेलले गरे जन्मदिनमा अक्षयकोषलाई सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  


युएई / वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाका लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् ।

झापा बुद्धशान्ति गाउँपालिका–३ का टीका कट्टेलले आफ्ना बुबाआमाको नाममा १५ हजार रुपैयाँ जम्मा गरेका हुन् ।

जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना बुबा शिवभक्त र आमा विष्णुमायाको नाममा अक्षयकोषमा रकम जम्मा गर्दा बढी उपयोगी र सान्दर्भिक हुने ठहर गरी टीकाले यो निर्णय गरेको बताए ।

युएईमा करिब १५ वर्षको रोजगारी पश्चात् ८ महिना अघि साउदी अरब पुगेका टीका कटेल झापाली समाज युएईका संस्थापक केन्द्रीय सदस्य साथै अबुधाबी क्षेत्रीय समितिका पूर्व उपाध्यक्ष रहेर काम गरिसकेका छन् ।

समाजको सांस्कृतिक विभागमा काम गरिसकेका कटेल गायन क्षेत्रमा पनि सक्रिय छन् । उनले गायिका अन्जु पन्तसँग “उही बाटो, उही लक्ष्य, उस्तै हाम्रो चाहना छ…..“ गीत रेकर्ड गरि सकेका छन् ।

झापाली समाज युएईका आजीवन सदस्य समेत रहेका कट्टेलले समाजले चालेको अभियानमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

झापाली समाज युएईले आफ्नो जिल्लाका असहाय बालबालिकाको सहायताको लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो अभियानमा आफ्नो नामबाट पनि थप ५ हजार रुपैयाँ थप गरी २० हजार रुपैयाँ हस्तान्तरण गरेको उनले जानकारी दिए ।

झापाली समाज युएई अन्तर्गत रहेको अक्षय कोष संकलन तथा पूर्णता समितिका संयोजक तथा गायक पारस लामाले टीका कट्टेलको यो सहयोग अनुकरणीय रहेको र समाजले उच्च मुल्यांकन गर्ने बताए ।

जन्मदिनको उपलक्ष्यमा तडकभडक नगरी समाजमा सकारात्मक सन्देश दिने टीका कट्टेलको सोचलाई झापाली समाज युएईले धन्यबाद दिएको छ ।

समाजका अध्यक्ष अशोक चापागाईंले समाजका सबै आजीवन सदस्यलाई अक्षयकोष स्थापना गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेका छन् ।

यसै अभियानमा सारजहा क्षेत्रीय समितिमा कार्यरत प्रेमा सुब्बाले पनि आफ्नो जन्मदिनको अवसरमा गत फेब्रुअरीमा ५ हजार रुपैयाँ जम्मा गरेकी थिइन् ।