जागरण अभियानको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं / कांग्रेसले जागरण अभियानको समीक्षासहित आन्तरिक मामिलामा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । असार २२ का लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

२५ वैशाखदेखि २५ जेठसम्म पहिलो चरणको अभियान सञ्चालन भएको थियो । अभियानका क्रममा जिल्लामा खटिएका केन्द्रीय सदस्यलाई कांग्रेसले १४ असारभित्र प्रतिवेदन दिन निर्देशन दिइसकेको छ ।

७७ वटै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाएर कांग्रेसले स्थानीयस्तरका समस्या संकलन गरेको छ ।

भदौदेखि हुने दोस्रो चरणको अभियानअघि संगठन सुधारका प्रयास सुरु गर्नेे कांग्रेसको तयारी छ । प्रदेश, क्षेत्रीय र स्थानीयतह स्तरमा पार्टी संरचना नहुँदा अभियान चलाउन समस्या आएको थियो।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन, भ्रातृ तथा शुभेच्छुक संघ संस्थाको विधानसहित समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ ।

नयाँ विधानअनुसारको नियमवाली यही बैठकबाट पारित गर्ने तयारी छ। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा नियमावली संशोधन मस्यौदा समिति बनाएको थियो ।

समितिले मस्यौदालाई अन्तिम चरणमा पु¥याएको छ। ‘हामीले आफ्नो कामलाई लिपिबद्ध गर्न लागेका छौ’, समिति सदस्य प्रदीप पौडेलले भने, ‘२२ गते बस्ने बैठकअगावै काम सकिन्छ।’ नियमावली नबनेकै कारण नयाँ विधान कार्यान्वयनमा आउन सकेको छैन ।

केन्द्रीय बैठकले नियमावली अनुमोदन गरेपछि नयाँ विधान कार्यान्वयनको बाटो खुल्नेछ ।

दोस्रो चरणको अभियान सुरु गर्नुअघि पार्टीले तल्लो तहको संरचना खडा गर्नु अनिवार्य रहेको उनको भनाइ छ । ‘नत्र जागरण अभियान नगरे हुन्छ’, उनले भने, ‘दोस्रो चरणको अभियान प्रदेशस्तरीय भएकाले त्यहाँ संरचना अनिवार्य छ ।’

पार्टी संरचना संघीयताको मोडलमा नढालेको भन्दै नेतृन्वको आलोचना हुँदै आएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई संघीय संरचनामा चाँडै ढालिने बताए ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा पार्टी विभाग गठनको तयारीमा जुटेका छन्।
अन्नपूर्णपोष्टबाट