झापाको मेचीनगरमा २ जना डेंगु संक्रमित फेला

  •  
  •  
  •  
  •  
  •  
  •  

मेचीनगर / झापाको मेचीनगरमा २ जना डेंगु रोगी फेला परेका छन् । मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोल निवासी आमा छोरामा डेंगुको संक्रमण देखिएको हो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेंगु भएको र उनको हेरचाहामा पुगेकी ४९ वर्षीया आमामा समेत डेंगुको लक्षण देखिएको हो ।

पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु झापा पनि देखिएको हो । यसअघि जिल्लाको भद्रपुर, बिर्तामोड, अर्जुनधारा लगायतका पालिकामा ८ जना डेंगु संक्रमित व्यक्ति फेला परेका छन् ।

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उनीहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनका अनुसार अहिलेसम्म मेचीनगरमा डेंगुका रोगी फेला परेका थिएनन् । झापामा पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा डेंगु फेला परेको थियो । धरानमा रहेका बखत दुवैजनामा डेंगु संक्रमण देखिएको बताइएकोछ ।

नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ ।

आइतबार मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राई सहसंयोजक रामनारायण यादव नेतृत्वको जनप्रतिनिधि, आमा समूह, टोल, विकास संस्थाका प्रमुख प्रतिनिधिसहितको टोलीले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने काम सुरु गरेको छ ।