झापामा पूर्ण सरसफाई अभियानका लागि बाल क्लब

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको झापामा पूर्ण सरसफाइ अभियानलाई तीव्रता दिइएको छ ।

खुला दिसामुक्त घोषणापछिको समुदायको खानेपानी तथा सरसफाइको अवस्था, संस्थागत क्षेत्रमा सरसफाइको अवस्था र सरसफाई सम्बन्धी जनचेतना अझ विकसित ढंगबाट अघि बढाउन युएन ह्यमबिट्याटको ग्लोबल स्यानिटेशन फण्डको साझेदारीमा झापाका तीन वटा पालिकामा सन् २०१९ का लागि नमूनाको रुपमा पूर्ण सरसफाइ अभियान थालिएको हो ।

अभियान अन्तर्गत मंगलबार बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग पूर्ण सरसफाइका क्रियाकलाप सम्बन्धी छलफल गरिएको छ ।

छलफलमा विद्यालयमा बाल क्लव गठन गर्ने र ती क्लवमार्फत पूर्ण सरसफाइका क्रियाकलाप अघि बढाउने प्रतिबद्धता विद्यालयका प्रतिनिधिले गरेका छन् ।

बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख केशव खवासको अध्यक्षतामा आयोजित बाल क्लव गठनसम्बन्धी योजना कार्यशालामा अभियानको सहजीकरण गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता सोम आचार्य र सरसफाइ अभियानकर्मी रुद्रबहादुर न्यौपानेले पूर्ण सरसफाइ अभियानमा गर्नुपर्ने क्रियाकलापका बारे सहजीकरण गरेका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले पूर्ण सरसफाइ अभियानलाई परिणाममुखी बनाउन विद्यालय क्षेत्रको अहम भूमिका रहने हुँदा सहयोग पु¥याउन आग्रह गरे । कार्यक्रम संस्थाका कार्यक्रम अधिकृत अर्जुन पाठकले सञ्चालन गरेका थिए ।

यसअघि अभियान सञ्चालनमा रहेको कमल गाउँपालिकामा क्लव गठन भई सो क्लवले क्रियाकलाप अघि बढाइसकेको छ भने गौरीगञ्ज गाउँपालिकामा पनि अभियान सुरु भइसकेको सहजकर्ता आचार्यले जानकारी दिए ।