दमक अस्पतालमा स्वास्थ्य बीमाको सेवा लिन सास्ति

  •  
  •  
  •  
  •  
  •  
  •  


दमक / झापाको दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा उपलब्ध सेवा सुबिधा व्यवस्थित हुन नसक्दा सर्वसाधारणह मारमा पर्ने गरेका छन् ।

जिल्लाको माईपश्चिमका ५ वटा स्थानीयतहलाई लक्षित गरि सञ्चालनमा आएको दमक जिल्ला अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर हुँदा सर्वसाधारणले हैरानी खेप्नु परेको गुनासो बढदै गएको छ ।

माईपश्चिमा यो एक मात्र सरकारी जिल्ला अस्पतालमा उपलब्ध सेवा सुविधाहरु व्यवस्थित हुन नसक्दा समस्या भोग्दै आएका छन् । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको यस क्षेत्रका सेवाग्रहीले सेवा लिने पहिलो दमक अस्पताल नै हो ।

विशेष गरि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यो अस्पतालमा दैनिक ४ सय देखि ५ सयसम्म बिरामीले सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ । तर, बीमा सेवा लिने सर्वसाधारणले अस्पतालको सेवा प्रति पटक्कै सन्तुष्ट छैनन् ।

गौरादहकी बिन्दु कार्कीले स्वास्थ्य बीमाबाट उपचारका लागि दमक अस्पतालमा आए पनि सेवा लिन चर्को कठिनाई खेप्नु परेको गुनासो गरिन् ।

पेट दुख्ने समस्या लिएर अस्पताल आएकी कार्कीले व्यवस्थापकीय कमजोरीका कारण आफू र आफूजस्तै धेरै सेवाग्राहीले सास्ती खेप्नु परिरहेको गुनासो गरिन् ।

अस्पतालले प्रवाह गर्ने सेवा सुविधा चुस्त हुन नसक्दा दैनिक सयाँै सर्वसाधारणले सास्ती खेप्नु परिरहेको मोरङ उर्लाबारीकी लिलादेबी ढुंगानाले गुनासो गरिन् ।

जिल्लाको माइपश्चिमका ५ वटै स्थानीय तहहरुका साथै इलामको चुलाचुलीका सर्वसाधारणकोे स्वास्थ्य बीमाको पहिलो सेवा लिने अस्पतालको दुर्दशा सुल्झाउन अस्पताल बेखबर रहँदै आएको छ ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.सुरक्षा बाँस्कोटाले स्वास्थ्य बीमा सेवा लिन आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बृद्धि हुँदै गएपछि अस्पतालमा पर्याप्त जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको बताइन् ।

अस्पतालमा सरकारी स्वीकृति अनुसारका दबन्दी नहुँदा समेत अस्पताल नियमित सञ्चालनमा समस्या आएको उनको भनाइ छ ।

नेपाल सरकारबाट ५० शैयाको स्वीकृति पाएको भएपनि हाल १५ शैया जेनतेन सञ्चालनको क्रममा छ ।

हाल ७ जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको अस्पतालमा सेवाग्रहीको चाप दैनिक उच्च हुँदै गएपछि सेवा विस्तारतर्फ स्थानीय सरकारले ध्यान दिएको वताउँदै आएका छन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार अस्पतालमा सेवाग्रहीको चाप बढ्दै गएका कारण थप ३ जना मेडिकल अफिसर नियुक्ति गर्न तयारी थालिएको बताएका छन् ।

उनले बिज्ञापन आव्हान गरिएको र छिट्टै सेवा प्रवाह मजबुत गरिने स्पष्ट पारे ।
जिल्ला अस्पतालको रूपमा स्वीकृति पाएको यो अस्पताल हाल नगरपालिकाको मातहतमा सञ्चालन हुँदै आएको छ ।

यो अस्पतालले वर्षमा करिब ३ लाख बढि सर्वसाधारणलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिँदै आइरहेको जनाइएको छ ।