नेपालद्वारा यूएईविरुद्ध २८५ रनको लक्ष्य प्रस्तुत

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / जारी प्रतियोगिताबाट बाहिरिए पनि नेपालले आजको खेलमा यूएईविरुद्ध २८५ रनको उच्च स्कोर खडा गरेको छ ।

कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याएका हुन् ।

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले यूएईलाई २८६ रनको बलियो लक्ष्य दिएको छ । हार जित जे भएपनि नेपालका लागि जारी यूएईविरुद्धको खेल प्रतिष्ठाको लडाई मात्रै हो । नेपाल लगातार दुई खेलमा पराजित भइसकेको छ ।

श्रीलंकामा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धाति ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।

आठौँ विकेटका लागि पुछारका ब्याट्सम्यानद्वय रासिद खान र कमलसिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई सो स्कोरमा पुर्याएका हुन् ।

अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि कमलले २६ बलमा आक्रामक पारी खेल्दै ५ चौका र २ छक्कासहित ४१ रन जोडेका थिए । यस्तै रासिद खानले ४४ रन जोडे। उनले ४६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनरद्वय रित गौतम र पवन सर्राफलाई शुन्य रनमै गुमाएपछि धरमराएको नेपाली पारी आसिफ शेख र रोहित पौडेलले सम्हालेका थिए ।

रोहित र आसिफले ७१ रनको साझेदारी गरेका थिए। रोहितले ८३ बलमा ८ चौका र १ छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले। यस्तै आसिफले ५४ बलमा ४५ रन जोडे। सो क्रममा उनले ८ चौका प्रहार गरे ।

आसिफपछि सन्दीप जोरासँग ८५ रनको साझेदारी गर्दै रोहितले नेपाललाई ठूलो स्कोरतर्फ अघि बढाएका थिए । सन्दीपले ५३ बलमा ६ चौकासहित ४८ रन जोडे।