नेपाल विपद उत्थानशील राष्ट्रिय सञ्जाल गठन

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / सबैखाले विपद् जोखिम न्यूनिकरणमा रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले राष्ट्रियस्तरको नेपाल विपद् उत्थानशील सञ्जाल गठन भएको छ ।

चितवनको सौराहामा सम्पन्न विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी सरोकारवालासँगको राष्ट्रिय भेलाले सात सदस्यीय सञ्जाल गठन गरेको हो ।

सातैवटा प्रदेशका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको भेलाले सुदुरपश्चिम प्रदेशका दिनेशचन्द्र जोशीको संयोजकत्वमा सात सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालमा सबै प्रदेशको प्रतिनिधित्व रहेको छ ।

प्रदेश १ बाट रुद्रप्रसाद सिटौला, २ बाट दुर्गा परियार, ३ बाट गणेश ढुंगाना, गण्डकी प्रदेशबाट फूलमाया राना, ५ बाट संगीता चौधरी र कर्णाली प्रदेशबाट खेमबहादुर रेग्मी सञ्जालको सदस्य छन् । सञ्जालको कार्यकाल २ वर्षको रहने छ ।

गृह मन्त्रालय, बिल मेलिण्डा गेट्स फाउण्डेशन, एडीपीसी र लिबर्डले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालमा विपद्को अवस्था, विपद न्यूनिकरणमा भइरहेका प्रयास, विपद् जोखिम न्यूनिकरण पूर्व तयारीका सम्बन्धमा भइरहेका गतिविधिका बारेमा एडीपीसीका नेपाल प्रतिनिधि मान थापा, लिबर्डका भरत भण्डारी, गृह मन्त्रालयका वेदनिधि खनाल लगायतले प्रष्ट्याएका थिए ।

अध्ययन अनुसार नेपाल धेरैखाले विपद्को जोखिममा रहेको थापाले जानकारी दिए । उनले विपद व्यवस्थापनका लागि प्राप्त हुने विदेशी सहयोग पूर्णरुपमा उपयोगमा आउन नसकेको पनि जानकारी दिए ।

नेपालमा विपद् व्यवस्थापनका लागि प्राप्त हुने सहयोगको ४ प्रतिशत पनि खर्च हुन नसक्ने गरेको छ । सरकार र सरोकारवाला संस्थाको क्षमताको कमीका कारण सहयोगको ठूलो हिस्सा फर्कने गरेको थापाको भनाइ छ ।