परोपकार समाज साकोसको वार्षिक उत्सवमा १२ जना सम्मानित

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / परोपकार समाज बचत तथा ऋण सहकारी संस्था लिको ५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाले विभिन्न विद्यामा १२ जनालाई सम्मान गरेको छ । सो अवसरमा उत्कृष्ट बचतकर्ता पर्शुराम खनाल, रेवता बुढाथोकी नेपाल, स्वेच्छिक बचतकर्ता पदमप्रसाद तिम्सिना, चन्द्रमाया राजवंशी, बाल बचतमा सुदिन अधिकारी, निम्जला श्रेष्ठ, उत्कृष्ट ऋणी सूर्यप्रसाद पोखरेल, जेष्ठ नागरिक सम्मानतर्फ अम्बिकादेबी न्यौपाने, उत्कृष्ट कर्मचारीका रुपमा प्रवचन नेपाललाई सम्मान गरिएको हो ।

त्यस्तै, पुरानो कार्य समितिका सदस्य जीवनकुमार श्रेष्ठ, निक्षेप उपसमिति संयोजक कान्तीबहादुर कार्की र एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी उमेश पण्डितलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो ।

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले सम्मानपत्र दोसल्ला र नगद प्रदान गरेकी थिइन् ।

उपप्रमुख प्रसाईले अबको क्रान्ति आर्थिक क्रान्ति भएकाले सहकारीले सदस्यको आर्थिक उन्नती हुनेतर्फ कदम चाल्दै अघि बढ्नुपर्ने आँैल्याइन् ।

सहकारीको माध्यमबाट पनि ठूलठूला काम गर्न सकिन्छ भन्दै उपप्रमुख प्रसाईले सहकारीले आर्थिक उपार्जन गर्ने क्षेत्रमा लगानी गरी रोजगारीको बाटो खोल्न आग्रह गरिन् ।

बिर्तामोड वडानम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले परोपकारको क्षेत्रमा काम गर्दै आएको सहकारीले सरकारको नीति अनुसार सके आफैँ गर्ने नभए अन्य सहकारीसंँग हातेमालो गर्दै अघि बढ्न सुझाव दिए ।

सामाजिक सद्भाव र भाइचारालाई जोड्ने उद्देश्यका साथ स्थापित परोपकार सहकारीमा हाल ५४२ पुरुष ४३५ महिला गरी ९८९ जना शेयर सदस्य छन् ।

१ करोड २६ लाख १९ हजार ३०० रुपैयाँ शेयर पुँजी रहेको संस्थाले परोपकार समाज सहकारीको चाहना उद्यमशील र व्यवसायिक सदस्यको कामना भन्ने नाराका साथ काम गर्दै आएको छ ।

संस्थाका अध्यक्ष डा. रुपक खनालको सभापतितवमा सम्पन्न कार्यक्रममा अध्यक्ष खनालले संचालक समितिको प्रतिवदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले यस वर्ष संस्थाले ८ लाख ५४ हजार ७७२ रुपैयाँ नाफा गर्न सफल भएको जानकारी दिए ।

अध्यक्ष खनालले आगामी वर्ष ७ करोड निक्षेप संकलन गर्दै २ करोड रुपैयाँ शेयर पुँजी पुर्याउने लक्ष्य प्रस्तुत गरे ।
उनले संस्थालाई मजबुत बनाउन कारोबार मिल्ने संस्थासँग मर्ज हुन चाहेको पनि जानकारी दिए ।

संस्थाले न्यूनतम २५० कित्ता शेयर भएका सदस्यको पिता वा माताको मृत्यु भएमा मानो चामल वापत ५ हजार रुपैयाँ सहयोग गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैँक बिर्तामोड शाखा प्रमुख मुना घिमिरे,लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेत, मुनाल टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी गौतम लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत उपाध्यक्ष हरीप्रसाद तिम्सिना र सञ्चालन सचिव कृष्ण सुवेदीले गरेका थिए ।