पाइलाइनबाटै आयो नेपालमा तेल, नेपाल र भारतका प्रधानमन्त्रीले स्विच थिचेर गरे उद्घाटन

  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौँ ( रासस ) / दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइनको आज नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले आआफ्नो देशमा स्विच थिचेर उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा स्विच थिचेका थिए भने भारतीय प्रधानमन्त्री मोदीले दिल्लीस्थित हैदरावाद हाउसमा स्विच थिचेर दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

दुबै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट उद्घाटन गरेको पाइपलाइनको भिडियो नेपाल आयल निगमको अम्लेखगञ्ज र भारतको मोतीहारी डिपोमा समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । मोदीले पठाएको डिजेल ओलीले स्विच थिचेर रिसिभ गरेका हुन् ।

भारतबाट आएको तेल अम्लेखगञ्ज डिपोमा रहेको आयल निगमको ट्यांकीमा जम्मा गरिएको हो ।

उद्घाटनसँगै पाइपलाइनबाटै भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति सुरू भएको छ । त्यसका लागि नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । यसबाट वार्षिक रुपमा दुई अर्ब बचत हुने राससले जनाएको छ ।

यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।

भारततर्फ ३२.५ र नेपालतर्फ ३७.५ किलोमिटर लामो रहेको पाइपलाइन निर्माण गर्नका लागि ४ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ ।

जसबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउँछ। एक किलोलिटरमा एक हजार लिटर हुन्छ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङकी निर्माण गरिएको छ ।

उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउनेछ। वि.सं. २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो ।

वि.सं. २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए ।

सुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ ।

पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ ।

पाइपलाइन परियोजनामा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको करिब ७५ करोड रुपैयाँ संयुक्त लगानी रहेको आयल निगम सिमरा कार्यालयले जनाएको छ ।
तस्वीर रासस