पात्रोको परिवर्तनमात्र होइन, नयाँ वर्ष

  •  
  •  
  •  
  •  
  •  
  •  

डा. सुरेश आचार्य


विक्रम संवत्को वर्ष २०७५ सकिएको छ । दुनियाँमा कसैले रोक्न नसक्ने समयमात्र हो । कोही जन्मे पनि वा नजन्मे पनि, कसैले केही गरे पनि, नगरे पनि समय एकनास आफ्नै गतिमा चलिरहन्छ ।

मानिसले सुरुमा घाम–घडीको मद्दतबाट समयको मापन गर्ने गर्थे । पछि पानी–घडीको विकास भयो । मेकानिकल घडीको आविष्कार १३औँ शताब्दीमा मात्र भएको विश्वास गरिन्छ । नाडी–घडीको विकास भने सन् १५१० मा भएको हो । प्रविधिको विकाससँगै आज डिजिटल घडी प्रयोगमा छन् ।

यद्यपि, घाम–घडीदेखि मेकानिकल घडी सबैमा १२ मात्र बज्ने कसले कसरी गरिदियो, कुनै इतिहास फेलापर्दैन । समयलाई हरेक समाजले आफ्नै ढङ्गले प्रयोग गथ्र्यो ।

सन् १८४० को दशकसम्म बेलायतमा समेत सहरैपिच्छे आफ्नै समय थिए । रेलको विकास भएपछि रेल आउने समयका आधारमा सहजताका लागि एउटै समय निर्धारण गरियो । १८८४ मा मात्रै अन्तर्राष्ट्रिय समय निर्धारण गरियो अर्थात् ग्रीनविच समयलाई अन्तर्राष्ट्रिय समय मान्न थालियो । अक्षांश र देशान्तरका आधारमा आजको राष्ट्रिय अन्तर्राष्ट्रिय समय निर्धारित छ ।

महिनाको प्रयोग चन्द्रमाको गतिसँग जोडेर सुरु भएको हो । चन्द्रमाको एक चक्र पूरा हुन सामान्यतः ३० दिन लाग्छ । यसै आधारमा इपू (बीसी) ४५ तिर जुलियस सिजरले १२ महिनाको एक वर्ष बनाएर (क्यालेन्डर) पात्रो बनाएको विश्वास गरिन्छ । उनले नै ‘लिप इयर’ को पनि विकास गरे । अर्थात् हरेक चौथो वर्ष एक दिन बढी हुने व्यवस्था गरियो ।

‘बीसी’ र ‘एडी’ का विषयमा कुनै प्रामाणिक आधार भेटिँदैन । जिसस क्राइस्ट जन्मनुअघिको समयलाई बिफोर क्राइस्ट भनेर बीसी लेख्ने गरियो भन्ने विश्वास छ । आफ्नै देवता (आन्नो डोमिनी) प्रकट भएपछि एडी प्रचलनमा आएको मानिन्छ । तर, उनै जिससको जन्म ३५४ एडी डिसेम्बर २५ मा भएको मानिन्छ ।

र, यही डिसेम्बर २५ लाई क्रिसमस भनेर मनाउने गरिन्छ । एडी र बीसीको चलन पाँचौँ शताब्दीतिर भिक्षु डाइनोसियस दी सर्टले चलाएका हुन् । तर, एकथरीले जिससको जन्ममा उनले गलत हिसाब गरेको मान्छन् । उनीहरूको तर्क ४ बीसीताका नै जिससको जन्म भएको भन्ने छ ।

रोमनले मार्च १ लाई नयाँ वर्ष मान्ने गरे । ल्याटिन भाषाका आधारमा सेप्टेम्बर सातौँ, अक्टोबर आठौँ, नोभेम्बर नवौँ र डिसेम्बरलाई दसौँ महिना मानिन्थ्यो ।

यस आधारमा मार्च पहिलो महिना बन्यो । जनवरी महिना रोमन देवता ‘जानुस’ का नाममा राखिएको हो, यसको अर्थ ढोकाका देवता भन्ने हुन्छ । यसले सुरुवातको पनि अर्थ दिन्छ । सायद यही सुरुवातको अर्थमा बेलायतले १७५२ देखि जनवरीलाई पहिलो महिना मानेर काम गर्न थाल्यो । रूसले त १९१७ को क्रान्तिपछि मात्र यो संवत्लाई स्वीकार गरेको हो । यसअघि उसको आफ्नै संवत् थियो ।

फेब्रुअरी रोमन चाड ‘फेब्रुआ’ र मार्च युद्धका देवता मार्सको नामबाट रहेको हो । यसैगरी, अरू महिना पनि नामकरण भएको विश्वास गरिन्छ ।

महिनाको गणना गर्न लामो समय कुर्नुपर्ने भएकाले समयको हिसाबलाई अझ सहज बनाउन सायद हप्ताको सोच बन्यो । सूर्य (सन) का नामबाट सन्डे (आइतबार), चन्द्रमा (मुन) का नाममा मन्डे (सोमबार) र शनिश्चर (स्याटर्न) ग्रहका नाममा स्याटरडे (शनिबार) बनेको मानिन्छ । अरू बारका नाम जर्मनी देवीदेवताका नामबाट राखिएको विश्वास गरिन्छ ।

तर, प्रसङ्ग विक्रम संवत्को पुरानो वर्ष समाप्ति र नयाँ वर्ष आगमनको हो । विक्रम संवत् उज्जैनका राजा विक्रमादित्यका नामबाट सुरु भएको एकथरीको मत छ । विक्रमादित्यले साकस्तानका राजशाही शकलाई पराजित गरेपछि यसको सम्झनामा विक्रम संवत् सुरु गरिएको हो भन्ने विश्वास गर्नेहरू पनि छन् ।

सस्टानका नाममा समेत चिनिने यो राज्य अहिलेको पूर्वी इरान र दक्षिण अफगानिस्तानमा पर्छ भने उज्जैन यतिबेला भारतमा पर्छ । तर, अर्काथरीहरू यो इतिहास गलत भएको बताउँछन् । उनीहरूको मतमा विक्रमादित्य कुनै लोककथाका राजा हुन् वा त्यो पद्वीमात्र हो । चन्द्रगुप्त द्वितीयले आफूलाई विक्रमादित्य घोषणा गरे र चलनचल्तीको संवत् परिवर्तन गरे । यससम्बन्धी अरू मिथक पनि छन् ।

कतिपयले यो हिन्दु धर्मावलम्बीको संवत्का रूपमा व्याख्या गरेका छन् । सूर्यमान र चन्द्रमानका आधारमा बनेको संवत्का रूपमा समेत यसको व्याख्या हुने गरेको पाइन्छ । तिथिका कुरा हिन्दु धर्ममा बढी आउने भएकाले पनि यसो भनिएको हुनुपर्छ । यो संवत् मूलतः भारत वर्षमा चलेको पाइन्छ ।

अहिले पनि विक्रम संवत् नेपालका साथै भारतको असम, बङ्गाल, केरला, कस्मिर, मणिपुर, उडिसा, पन्जाव, तमिलनाडूमा समेत प्रचलनमा छ । गुजरातमा भने कात्तिक शुक्ल पक्षदेखि नयाँ वर्ष मानेर विक्रम संवत् चलाउने गरिएको छ । यसबाहेक कम्बोडिया, बर्मा (म्यान्मा), श्रीलङ्का र थाइल्यान्डमा पनि विक्रम संवत्को अभ्यास भएको पाइन्छ ।

भारतमा बेलायती साम्राज्य सुरु भएपछि इस्वी संवत् सुरु भयो भने पाकिस्तानको विभाजनपछि पाकिस्तान र बङ्गलादेशमा इस्लामिक क्यालेन्डर सुरु भएको हो । अन्यथा एकीकृत भारतमा विक्रम संवत् नै प्रचलनमा थियो । यद्यपि, विक्रम संवत्लाई आधिकारिक संवत् मान्ने मुलुक भने नेपालमात्रै हो ।

राणा शासक देवशमशेरकै पालादेखि १९५८ को विक्रम संवत्बाट यसले नेपालमा आधिकारिक मान्यता पाएको हो । वैशाखबाट सुरु हुने यो संवत्सँग नेपाल संवत्को साइनो छ । वैशाख १ गतेको दिन भक्तपुरमा मनाइने बिस्केट जात्रा तिथिमा आधारित देखिँदैन तर नेपाल संवत् मूलतः चन्द्रमानका आधारमा चलेको पाइन्छ । प्रचलनमा नेवार समुदायमा सीमित नेपाल संवत्ले २०६४ देखि राष्ट्रिय संवत्को मान्यता भने पाएको छ ।

माथि नै भनियो– विक्रम संवत् सूर्य र चन्द्र दुवैको गतिका आधारमा निर्धारित छ । जसरी चन्द्रमास १२ महिनाकै हुन्छ, सूर्यमास पनि १२ महिनाकै हुन्छ ।

फरक यति हो, चन्द्रमासका दुई पक्ष हुन्छन्– शुक्ल पक्ष र कृष्ण पक्ष । तिथिका आधारमा पूर्णिमा हुने पक्ष शुक्ल पक्ष हो भने औँसी हुने कृष्ण पक्ष हो । हरेक महिना ३० तिथि नै हुन्छन् तर सूर्यमासमा २४ घण्टाको एक पूर्ण दिन भएजस्तो तिथिमा हँुदैन । यो २० देखि २७ घण्टाको हुन्छ । त्यसैले वर्षभरिको समयलाई मिलाउन अधिकमास र क्षयमासको हिसाब गरेर १२ महिना कायम गरिएको हुन्छ । सूर्य र चन्द्रबीचको अक्षांश १२ डिग्री कोणको अन्तरमा एक तिथि निर्धारण हुन्छ ।

त्यसैले तिथि बिहानमात्र सुरु नभएर दिउँसो सुरु हुन पुगेको हो । इस्वी संवत्सँगको विक्रम संवत्को भिन्नता ऋतुहरूमा पनि छ । इस्वी संवत्ले चार ऋतु हुन्छ भन्ने मान्छ तर विक्रम संवत्मा छ ऋतु हुन्छन् । वैशाखको प्रारम्भसँगै वसन्त ऋतु पनि सुरु हुन्छ । ऋतुको हिसाबले पनि यो नयाँ वर्ष हो ।

नयाँ वर्षमा हरेकले नयाँ योजना बनाउँछन् । जीवनलाई अरू सार्थक बनाउने प्रतिज्ञा गर्छन् । उत्साह र उमङ्ग भर्ने प्रयत्न गर्छन् । यो आफैँमा सकारात्मक पक्ष हो । ३६५ दिनपछि कसैले चाहेर वा नचाहेर पनि फेरि नयाँ वर्ष आउँछ । बितेको वर्षलाई फर्केर हेर्दा कोही अपवादमा रहलान् तर सबैको उपलब्धि औसतखालको हुने गर्छ । यो नयाँँ वर्ष त्यो विगत नदोहो¥याउने प्रण गर्ने दिनमात्र नबनोस् । सूर्य र चन्द्रको गतिको निरन्तरतामात्र नबनोस् । सूर्य र चन्द्रझैँ चम्किने अवसर पनि प्राप्त होस् । गोरखापत्रअनलाइनबाट

(लेखक नेपाल पत्रकार महासङ्घ पूर्वसभापति हुनुहुन्छ । )