बम बिस्फोटको घटनाप्रति सहकारी संघको निन्दा

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / झापा जिल्ला सहकारी संघले आफ्नो सदस्य संस्था सहारा नेपालको निर्माणाधिन भवनमा आइतबार राति गराइएको बम विस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष गणेश ढकालले बुधबार प्रेस विज्ञप्तिमार्फत यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारी माथिको आक्रमण तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरेका छन् ।

१० वर्षे सशस्त्र युद्धकालमा समेत सहकारीमा आक्रमण नभएको यथार्थ बिर्सिएर अभियानको एउटा अग्रणी संस्था माथिको बम हमला नेपालका ६५ लाख सदस्य माथिकै हमलाका रुपमा सहकारी अभियानले लिएको विज्ञप्तिमा उल्लेख छ ।

सहारा नेपाल अत्यन्त न्यून आय भएका सदस्यहरु बीच महिला सशक्तिकरण, स्वरोजगार सिर्जना, उद्यमशिलताको विकास गरी विगत २ दशकदेखि कार्य गर्दै आइरहेको संस्था भएको विज्ञप्तिमा भनिएको छ ।

सदस्यमाझ राहत, सहयोगका विभिन्न कार्यक्रम गर्ने नेपालकै ठूलो संस्थामाथिको प्रहारको संघ भत्सर्ना गर्दछ संघले भनेको छ । कुनै कार्यक्रममा सुधार गर्नुपर्ने भएमा सोबारे जानकारी र छलफलसमेत नगरी एकाएक बम बिष्फोट गराउने कार्य निन्दनीय छ ।’

सहाराको भवनमा गराइएको बम विस्फोटनको घटनाप्रति आपत्ती जनाउँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले घोर भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष डिबी बस्नेतले मंगलबार विज्ञप्ति निकालेर सदस्यहरुको ससानो पूँजी संकलन गरी सदस्यहरुकै हितमा काम गर्ने उद्देश्यसहित सञ्चालित सहकारी संस्थामा भएको निन्दनीय कार्यप्रति साकोस अभियान र संघको तर्फबाट घोर निन्दा एवम् भत्सर्ना गरेको छ ।