बलात्कार आरोपमा बैँक मेनेजरसहित दुई जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  


उर्लाबारी / मोरङको उर्लाबारी र धनपालथानमा भएका बलात्कारका छुट्टाछुट्टै घटनामा बैँकका मेनेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी –१ की २१ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा इलाम, चुलाचुली–६ घर भई उर्लाबारीमा बस्दै आएका २१ वर्षीय संगम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा चिनजान भएकै आधारमा राईले पिछा गर्दै ती युवतीलाई बलात्कार गरेका हुन् । खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले शुक्रबार झाडीमा लगेर युवतीलाई बलात्कार गरेका थिए । बलात्कारपछि राई भागेका थिए ।

बलात्कृत युवतीलाई घाइते अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले उद्दार गरेका थिए ।

घाइते युवतीलाई उपचारका लागि अस्पताल लगिएको छ । बलात्कारी राईलाई प्रहरीले पक्राउ गरेर आइतबार जबर्जस्ती करणीको अन्तर्गतको मुद्दा चलाएको छ ।

त्यसैगरी बिराटनगरकी एक युवतीलाई बलात्कार गरेको अभियोगमा मोरङ, धनपालथान–४ मा रहेको नेपाल बंगलादेश बैंक शाखा कार्यालयका मेनेजर अमित बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकमा कर्जा माग्न गएकी एक युवतीलाई फकाएर होटलमा लगेर बलात्कार गरेको अभियोगमा बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।

चार लाख रुपैयाँ कर्जा दिने प्रलोभन देखाउँदै म्यानेजर बास्तोलाले ती युवतीलाई होटलमा लगेर पटक पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

झापाको बुधबारे घर भएका बैंक म्यानेजर बास्तोलालाई पक्राउ गरी जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको डिएसपी श्रेष्ठले बताए ।