बस्ती नै बगाउँदा पनि सरकारले चासो नदिएपछि स्थानीय असन्तुष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  


उर्लाबारी / वक्राह नदीको बाढीले मोरङको उर्लाबारी–८ स्थित सन्थाल बस्ती बगाउँदा समेत सरकारले वेवास्ता गरेको स्थानीय युवाले गुनासो गरेका छन् ।

उनीहरुले सोमबार वक्राह नदी किनारामा पत्रकार सम्मेलन गरी तीनै तहका सरकारप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

सन्थाल बस्ती बगाउँदा समेत नदी तटबन्धनका लागि सरकारले रकम निकासा नगरेको स्थानीय युवाको भनाई छ ।

जनप्रतिनिधि र सरकारका प्रतिनिधिसँग वक्राह नदीबाट कटान भएको समस्याका बारेमा कुरा राखेपनि उनीहरुले वेवास्ता गरेको ती युवाहरुको भनाई छ ।

स्थानीय नारायण बस्नेतले ऋण काढेर भएपनि सो स्थानमा तटबन्ध गरिएको तर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारले बेवास्ता गरेको आरोप लगाए ।

अर्का युवा इन्द्र लामाले जनताको समस्या प्रति सरकार अनविज्ञ रहेको दाबी गरे । उनले जनताको समस्यालाई सरकारले बुझ्न नसकेको बताए ।

युवाहरुले विपन्न सन्थाल बस्तीलाई सुरक्षित तुल्याउन देशविदेशमा रहेको युवाहरुसँग सहयोग गर्न अपिल गरे ।