बिर्तामोडका मुसहरलाई दशैँको लुगा

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / लायन्स क्लब अफ बिर्तामोड लेडीले नयाँ लुगा वितरण गरेपछि बिर्तामोड– ३ र १० का बिपन्न मुसहर समुदायको दशैंँको गर्जो टरेको छ ।

दशैँको लुगा किन्न नसक्ने अवस्थामा रहेका १७ घर मुसहरका महिला, पुरुष र उनीहरुका छोराछोरीलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले शनिबार एक कार्यक्रम गरी लुगा वितरण गरेको हो ।

सामाजिक कार्य गर्दै आएको सो संस्थाले दशैँका लागि २५ जना महिलालाई साडी, १६जना पुरुषलाई गम्छा र २३ जना बालबालिकालाई रेडिमेड लुगा वितरण गरेको अध्यक्ष उर्मिला खरेलले बताइन् ।

उनले बिपन्न मुसहर समुदायको बिजोग देखेर कम्तीमा दशैँमा भएपनि केही राहत मिलोस् भनेर आफूहरुले खाजेर सो सहयोग गरेको जानकारी दिइन् ।

राहत सामग्रीको प्रायोजन आरती सुब्बा श्रेष्ठले गरेकी थिइन् । ‘दशैँमा के लाऊँ भन्ने समस्या थियो–लुगा पाएपछि अन्जु चौधरी ऋषिदेबले भनिन्, ‘अब लुगाको लागि चिन्ता गर्नु परेन ।’ उनले अब खानेकुराको व्यवस्था गर्नुपर्ने खाँचो रहेको बिवशता सुनाइन् ।

लुगा फेर्नुपर्ने अवस्थामा रहेकी शनचरी ऋषिदेवले नयाँ साडीले दशैँ, तिहार, छठ सबै पर्व मनाउन सकिने भन्दै खुशी व्यक्त गरिन् ।कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य हरिचरण शिवाकोटीले दुःखमा परेकालाई सहयोग गरेर सो संस्थाले मानवीय एवम् धार्मिक कार्य गरेको भन्दै प्रशंसा गरे ।

उनले राज्यको स्रोत साधनको समुचित न्यायपूर्ण बितरण गरिनु पर्नेमा जोड दिए ।
बिर्तामोड– ३ का वडाध्यक्ष भोजराज सिटौलाले आफ्नो वडाका बिपन्न मुसहरको जीवनस्तर उकास्न संघ संस्थालाई आग्रह गरे ।

कार्यक्रममा बिर्तामोड– ५ का वडा सदस्य हर्कमाया बिक, रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, राष्ट्रिय बाणिज्य संघका केन्द्रीय सदस्य भिष्म खरेल, मुसहर बस्ती बिकास निर्माण समितिका अध्यक्ष इन्द्रसिंह राजवंशी, लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओली, बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष पार्बता बिमली लगायतले मन्तब्य राखेका थिए ।

आरती सुब्बाले स्वागत र कमला प्रसाईंले राष्ट्रिय झण्डाको अभिवादन गरेको कार्यक्रमको सञ्चालन नम्रता ढकालले गरेकी थिइन् ।

यस अघि गत वर्ष पनि लायन्स क्लब अफ बिर्तामोड सिटीले त्यहाँका मुसहरलाई दशैँको लुगा वितरण गरेको थियो ।