बिर्तामोडमा पहिलो पटक सिनेमा डिकेट अवार्ड हुने

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि पहिलो पटक झापाको बिर्तामोडमा प्रदेश–१ स्तरीय ‘फष्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ हुने भएको छ ।

अवार्ड आयोजक पूर्वेली युवा क्लबले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

अवार्ड कार्यक्रममा तीनजना प्रदेश–१ का चलचित्र क्षेत्रमा योगदान पु¥याउने चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्डसहित सम्मान गरिने पूर्वेली युवा क्लवका पूर्व अध्यक्ष तथा अवार्डका संयोजक रमेश चौधरीले बताए ।

विभिन्न ४५ बिद्यामा पपुलर अवार्ड समेत प्रदान गरिने उनको भनाइ छ । ‘प्रदेश–१ मा जन्म भई देशको जुनसुकै स्थानमा रहेर पनि चलचित्र क्षेत्रमा योगदान पु¥याउने चलचित्रकर्मीलाई सम्मान गरिने छ’, अवार्ड कार्यक्रमका कोअडिनेटर मनोज केसीले भने ‘चलचित्र क्षेत्रमा १० वर्ष निरन्तर रहेको व्यक्तिलाई मात्र अवार्ड कार्यक्रममा समावेश गराइन्छ ।’

उनले प्रदेश–१ का जुनसकै भाषा, धर्म, संस्कृतिमा निर्माण भएका चलचित्र र कलाकारलाई पनि समावेश गराइने छ ।

बिर्तामोडमा हुने अवार्ड कार्यक्रमका लागि ५० लाख अनुमानित खर्च हुने बताइएको छ । अवार्ड सफल पार्नका लागि प्रायोजक, स्थानीय तह, स्थानीय संघ/संस्था, समाजसेवीको सहयोग लिइने केसीले बताए ।

प्रदेश–१ भरका चलचित्रकर्मीको नामावलि संकलनका लागि समिति निर्माण गरिने कोअडिनेटर केसीले जानकारी दिए । अवार्ड वितरण मंसीरमा गर्ने जनाइएको छ ।

कार्यक्रममा कलाकार सुनिल थापाले आजसम्म भारतमा पनि यस्तो प्रकारको अवार्ड नभएको बताए । ‘यो अवार्डले नेपाली फिल्मलाई अझ अगाडि वढाउन सहयोग गर्छ’ अभिनेता थापाले भने ‘यो कार्यक्रमले लुकेर रहेका प्रतिभालाई पनि प्रस्फुटन गर्न सहयोग मिल्छ ।’

एभरेष्ट एकाडेमीका सञ्चालक थापाले प्रदेश– १ मा शाखा विस्तार गर्ने सोच समेत रहेको बताए ।

पूर्वेली युवा क्लवका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अवार्डका प्रोडक्शन मेनेजर कुमार सिलवाल, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी, कलाकार भूपेन्द्र लिङ्देन ‘मन्त्री’, क्लवका उपाध्यक्ष दिपेन चौधरी, बक्सअफिसका प्रवन्ध निर्देशक यज्ञराज प्रसाईं, समाजसेवी कमल खरेल लगायतको उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन क्लवका सचिव प्रकाश उप्रेतीले गरेका थिए ।