बीएण्डसीमा भित्रियो अर्बौको लगानीमा पूर्वाञ्चल क्यान्सर अस्पताल (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

गोपिन पोखरेल


बिर्तामोड / झापाको बिर्तामोड स्वास्थ्योपचारका लागि ‘हब’ बन्दै गएको छ । बीएण्डसी हस्पिटल बिर्तामोडले आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पताल भित्र्याएसँगै अब क्यान्सरका बिरामीले मोटो रकम खर्चेर टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।

क्यान्सरका कारण मृत्यु हुनेको संख्या वर्षेनी बढीरहेका बेला नेपालमै पहिलो पटक सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको हो ।

बुधबार बीएण्डसी अस्पतालमा पत्रकार सम्मेलन गरी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बिर्तामोडमा क्यान्सर अस्पताल भित्रिएको जानकारी दिए ।

निर्देशक प्रसाईंले भने, ‘वर्षौदेखिको मेरो सपना अब पुरा हुँदैछ, म आफैँ क्यान्सरको बिरामी, एक दिन क्यान्सर अस्पताल खोल्छु भन्ने मेरो सपना थियो, त्यो आज पुरा भएको छ ।’ उनले भने, ‘क्यान्सर रोगबाट छट्पटाएका मान्छेले अब घरको भात खाएर उपचार गर्न पाउने भएका छन् । यसमा सम्पूर्ण पुर्वाञ्चलबासीको सहयोगले यो सम्भव भएको हो ।’

नेपालमै पहिलो पटक क्यान्सर रोगको पूर्ण उपचार हुने मेसिन भित्रिएकोमा उनले खुसी व्यक्त गरे । भने, मैले गर्ने कर्तव्य पुरा गरेको छु, अब यसलाई संरक्षण गर्ने कर्तव्य तपाईहरुको हो ।’

क्यान्सरका बिरामी प्रसार्इंले आफ्नो अनुभव सुनाउँदै भने, ‘जब म आफ्नै उपचारका लागि इण्डिया गएँ, त्यहाँ नेपालीले पाएको दुःख नजिकबाट हेर्ने मौका पाएँ, त्यो देखेर मैले तुरुन्तै क्यान्सर अस्पताल खोल्नु पर्छ भन्ने सोचेर सुरु गरेँ, आज सपना पुरा भएको छ ।’

क्यान्सर रोग उपचारका लागि चाहिने मेसिन आइसकेको बताउँदै निर्देशक प्रसाईंले भने, ‘पूर्ण क्षमतामा सञ्चालन भएर मंसीर पुसतिर हामी उपचारका लागि क्यान्सरका ‘प्यासेन्ट’ लिन्छौँ ।’ क्यान्सरको उपचारका लागि भित्रिएको मेसिन अमेरिकामा उच्च स्तरीय प्रविधिबाट निर्मित भएकोले दक्षिण एसियामै नमुना बन्ने उनको दाबी छ । करिब डेढ अर्ब रुपैयाँ पर्ने सो मेसिन नेपाल भित्रिइ सकेको प्रसाईंले बताए ।

‘हाम्रो प्रतिष्पर्धा अब नेपालसँग होइन’ प्रसाईंले भने, ‘मेदान्त, राजीव गान्धी , सिंगापुर र अमेरीकाका हस्पिटलसँग हो, अब हाम्रो स्टाण्डर अन्तर्राष्ट्रिय स्तरमा पुग्छ ।’

पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुन पर्याप्त जनशक्ति भएको बताउँदै डा. विरेन्द्र यादवले भने, ‘१०० शैया क्षमतामा सञ्चालन हुने यो हस्पिटलमा चाहिने जति सबै चिज भित्र्याएको छ, यो अन्तराष्ट्रिय स्तरको हस्पिटल हुन्छ ।’

डा. यादवका अनुसार नेपालमा प्राय क्यान्सरको उपचार हुने अस्पताल पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । तर, पूर्वाञ्चल अस्पतालले कुनै कुरामा ‘कम्प्रोमाइज’ गरेको छैन । उनका अनुसार क्यान्सर रोगको उपचार गर्ने १० वटा मेसिन अस्पतालमा आउँदै छ ।

कार्यक्रममा पोफेसर डा. गेहनाथ बरालले अब बिरामीलाई ढुक्क भएर उपचार गर्न सक्छु भन्ने भएको दाबी गरे ।

डा. बरालले भने, ‘यतिको अत्याधुनिक मेसिन नेपालमै छैन ।’ पूर्वमै सुविधासम्पन्न हस्पिटल खुलेकोमा खुसी व्यक्त गर्दै प्रिन्सिपल डा. रामप्रसाद उप्रतीले अब चाँडै टिचिङको लागि विद्यार्थी लिन सुरु गर्ने पनि जानकारी दिए ।

भिडियो