बेपत्ता भएको ७५ वर्षपछि काजकिरीया

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / दमक–७ को एक परिवारले आफ्ना परिवारका सदस्य बेपत्ता भएको ७५ वर्षपछि काजकिरीया गरेको छ ।

वर्षौँसम्म पनि फर्किएर नआएपछि पशुपति पौडेलको परिवारले कुशको शव बनाई दाहसंस्कार गरी काजकिरीया गरेको हो ।

२००४ सालमा ताप्लेजुङको हाङ्देवाबाट बेपत्ता भएका उनी सय वर्ष पूरा भएको अनुमान गरी कनकाई नदीमा कुशको शव बनाई दाहसंस्कार गरेर किरिया गर्न सुरु गरिएको उनका नाति खगेन्द्र पौडेलले जानकारी दिए ।

बेपत्ता भएका व्यक्तिका छोरा खेमनाथ, बुहारी चन्द्रकला र छोरी डिकमायाले हिन्दू संस्कार अनुसार गरिने १३ दिनको काम सुरु गरेका हुन् । बेपत्ता भएको व्यक्ति सय वर्षको भएपछि समेत फर्किएर नआएपछि कुशको शव बनाई दाहसंस्कार गरी किरीया गर्ने मान्यता छ ।

त्यही मान्यता अनुसार काम थालिएको नाति खगेन्द्रको भनाइ छ । ‘फुपू गर्भमै हुँदा हजुरबुबा बेपत्ता हुनुभएको रहेछ’ नाति खगेन्द्रले भने, ‘उहाँले पनि बढी आग्रह गर्नुभयो, देख्नसमेत नपाएका बुबाको परम्परागत रूपमा काजकिरीया गर्ने इच्छा राख्नुभएकाले हिन्दू मान्यता अनुसार यो कर्म थालेका हौँ।’

जेठ २२ गते कुशको शव र मलामीसमेत गई कनकाई घाटमा दाहसंस्कार गरेपछि काजकिरीया सुरु भएको हो । थाहाखबरबाट