बोक्सी आरोपमा महिलालाई तातो पन्यूले डाम्ने दुई पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / बोक्सी आरोपमा महिलालाई शारीरिक यातना दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–२ जामुनबारीकी एक युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको आरोपमा सोही ठाउँकी ४० वर्षीया शान्ता बुढाथोकी र २१ वर्षीय दिनेश दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २२ वर्षीया बबिता दर्जीलाई बोक्सी लागेको भन्दै बुढाथोकी र दर्जीले तातो पुन्यूले डामेर घाइते बनाएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरूले बोक्सी लागेको भन्दै झार फुकको नाममा पित्तलको पुन्यू अगेनामा तताएर गाला र हातमा डामेको बताइएको छ ।

बबिता सामान्य ज्वरो आएपछि झारफुकका लागि बुढाथोकीको घरमा पुगेकी थिइन् । बुढाथोकीको घरमै यस्तो घटना भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

बुढाथोकी र दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।