भावना समेट्ने गरी प्रदेशको नाम राख्न मधेसवादी दलका नेताको आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / झापाका मधेसवादी दलका नेताले प्रदेश– १ को नामाकरण प्रदेशवासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर गर्नु पर्नेमा जोड दिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागी मधेसवादी दलका नेताले प्रदेश सरकारले पहिचान पक्षधर नेतासँग संवाद मार्फत सहमतिका आधारमा साझा धारणा तयार गरी सहमतिबाट प्रदेशको नामांकन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनवाला राईले प्रदेश–१ को नामाकरण गर्दा पहिचानलाई आधार मानेर गर्नुपर्ने बताए । उनले प्रदेशको नाम ‘किरात’ वा ‘किरात–लिम्बुवान–कोचिला’ राख्दा राम्रो हुने बताए ।

त्यस्तै समाजवादी पार्टी नेपालकी झापा उपाध्यक्ष संगीता रौनियारले प्रदेश– १ को नाम ‘कोच–किरात’ वा ‘विराट–कोच’ राख्दा सबैको भावना समेट्ने बताइन् ।

उनले पहिचानलाई आधार मानेर प्रदेशको नाम ‘कोसेली’ राख्दा उपयुक्त हुने बताइन् । समाजवादी पार्टी नेपाल लिम्बूवान प्रदेश समिति सदस्य विक्रम लिम्बूले प्रदेशको नामाकरण गर्दा हिमाल पहाड तराईलाई समेटिने गरी ‘किरात’ राख्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष विश्वनाथ सिंह राजवंशीले प्रदेश– १ को नामाकरण गर्दा आदिवासी जनजाति लगायत सबैलाई समेटिनेगरी ‘मोरङ’ वा ‘विराट’ राख्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य त्रिनारायण राजवंशीले कोच, किरात, लिम्बुवानलाई समेटिने गरी ‘कोचिला–किरात–लिम्बुवान’ राख्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल झापा संयोजक देवेन्द्रकिशोर ढुङगानाले प्रदेश–१ को नामाकरण गर्दा ‘पूर्वाञ्चल–किरात’ राख्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य सूर्यनारायण गणेशले प्रदेशको नामाकरण गर्दा आदिवासी जनजाति लगायतको भावना समेटिने गरी ‘मोरङ’ वा ‘विराट’ राख्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य अनुतसिंह राजवंशीले प्रदेश नं. १ को नामाकरण गर्दा ‘पूर्वाञ्चल–किरात’ राख्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डल सदस्य राजकुमार महतोले पहिचानलाई आधार मानेर प्रदेश नं. १ को नामाकरण गर्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका सुन्दरलाल साहले प्रदेश नं. १ को नामाकरण गर्दा ‘विराट’ राख्नुपर्ने बताए भने राष्ट्रिय जनता पार्टी नेपालका शंकर मेचेले प्रदेश नं. १ को नामाकरण गर्दा ‘मोरङ’ वा ‘किरात’ राख्नुपर्ने बताए ।

कार्यक्रममा उनीहरुले संविधानको सबै नेपाली जनताले अपनत्व ग्रहण गर्न सक्ने गरी वर्तमान संविधानको संशोधन गरी १ नम्बर प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजाति लगायत सबैको भावनाको सम्मान हुनेगरी प्रदेशको नामकरण गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

छलफलको सहजीकरण संवाद समूह झापाका सचिवालय सदस्य अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।