मितिनीलाई तीजमा यसरी नचाउँदैछिन् गायिका इन्दिराले
झापा / नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईको ‘नाचौँ मितिनी’ गीत सार्वजनिक भएको छ ।
तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विशेष गीत ल्याएकी हुन् ।
काठमाडौँमा समारोहको आयोजना गरी गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक आधुनिक गीत प्रस्तुत गरेकी हुन् ।
भट्टराईले नेपाली मौलिकता अटाइएको गीतमा विशेषतः आममहिला आपसमा एकताको सुत्रमा बाँधिनु पर्ने सन्देश दिइएको छ ।
‘हामीले तीजमा बजाइने भड्किला गीतभन्दा विशिष्ट र मौलिक गीत बनाएका छौं, दर्शक स्रोतालाई मनपर्छ भन्ने अपेक्षा गरेका छौँ,’ गायिका भट्टराईले भनिन् ।
कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत–संगीतको फरक बाटोमा गएको टिप्पणी गर्दै संगीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नु पर्ने बताए ।
‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी छिन् । कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराई लगायतले अभिनय गरेका छन् ।
सुदीप सागरको संगीत संयोजन तथा राजु केसीको छाँयाङ्कन रहेको भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् । प्रस्तुति इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको रहेका छ ।
भिडियोको लिंक