मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  


हल्दिबारी / झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आइतबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्यानरी बोर्डिङ स्कूल नजिक दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ७ प ४१३७ नम्बरकोे मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा तामाङसहित मोटरसाइकल चालक बिर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए ।

घाइतेमध्ये उप्रेती र ठाकुरको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।