रामजानकी साकोसको नाफा १२ लाख ३५ हजार बढी

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको रामजानकी कृषि सहकारी संस्था लिले १२ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।

बुधबार बिर्तामोडमा आयोजित संस्थाको ११ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष दलबहादुर कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त रकम नाफा गर्न सफल भएको जानकारी दिए ।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६ असार मसान्तसम्म २ करोड १० लाख ७० हजार ९९२ रुपैयाँ संस्थाको कुल आम्दानी रहेको छ ।

४ हजार १९० जना शेयर सदस्य रहेको संस्थामा हाल ३६ जना कर्मचारी कार्यरत छन् । संस्थाले विभिन शिर्षकमा गरी ९ करोड ८५ लाख १ हजार ५५० रुपैयाँ ऋण लगानी गरेको छ भने क्रमिक , अनिवार्य, बाल बचत लगायत १५ प्रकारका खाता सञ्चालन गर्दै आएको छ ।

साधारणसभाको अवसरमा संस्थाले असहाय बालबालिका आश्रित बिर्तामोडको तारा नमस्ते बाल ग्रामका १३ जना बालबालिकालाई नगद ७ हजार ५०० सहित १५ दर्जन कापी, १५ प्याकेट डटपेन र संस्थालाई प्रमाणपत्र प्रदान गरेको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।

सोही अवसरमा संस्थाले ज्येष्ठ नागरिक ९६ वर्षकी रत्नमाया दाहाल र १०० वर्षीय भीमप्रसाद बराललाई दोसल्ला ओडाई सम्मान गरेको छ । अपाङ्गतातर्फ शेयर सदस्य बिर्तामोडकी चन्द्रकला लिम्बू र चकचकीकी सीता गणेश सम्मानित भएका छन् ।

उत्कृष्ट बचततर्फ पर्शराम विराजी यादव र रीता गुरुङ, उत्कृष्ट ऋणीतर्फ दुर्गामाया प्रसाईं र बिमलादेवी निरौला, छात्रवृतितर्फ सुस्मिता यादव र सुशी राजवंशी र उत्कृष्ट कर्मचारीको रुपमा बिर्तामोडकी लक्ष्मी राई, हल्दिबारीका सोमनाथ बाँस्तोला, सुरुङ्गाका देबीप्रसाद तिम्सिना र चकचकीकी नविना खातुन सम्मानित भएका छन् ।

त्यस्तै, संस्थाले उत्कृष्ट सहकारीकर्मीको रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ ।

जिल्ला सहकारी संघका सचिव युवराज दकालले उद्घाटन गरेको कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल बस्नेत, सुनकोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल पराजुली, तारा नमस्ते बाल ग्रामका अध्यक्ष नारायण पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा सचिव शुक्रराज भण्डारीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।