‘ओल्लोबाट पल्लोमा गईदेउ भन्दा रोइलो किन ?’ डम्बर गिरी

  •  
  •  
  •  
  •  
  •  
  •  


गोपिन पोखरेल –

बिर्तामोड / हल्दिबारी गाउँपालिकाले १३ जना शिक्षकलाई अन्तर विद्यालय सरुवा गरेपछि शिक्षा विकास तथा समन्वय इकाई ( शिविसइ) बीच चर्किएको विवाद साम्य भएको छ ।

असोज १ गतेदेखि सरुवा भएका शिक्षक सम्बन्धीत विद्यालयमा गएर हाजिर गरेपछि विवाद सुल्झिएको गाउँपालिकाका उपाध्यक्ष एवम् शिक्षा समिति संयोजक डम्बरबहादुर गिरीले जानकारी दिए ।

हल्दिबारीले गत भदौ २३ गते गाउँपालिकाका १३ जना शिक्षकलाई अन्तर विद्यालय सरुवा गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाले गरेको उक्त निर्णयकाविरुद्ध शिक्षा विकास तथा समन्वय इकाइ, झापाले भदौ ३१ गते सरुवा भएका शिक्षकलाई हाजिर नगराउनु भन्दै सम्बन्धीत विद्यालयमा पत्राचार गरेपछि विवाद चर्किएको थियो ।

त्यस लगत्तै गाउँपालिकाले विज्ञप्ति निकालेर शिक्षक सरुवाको निर्णयमा शिक्षा विकास तथा समन्वय इकाई झापाले हस्तक्षेप गरेको भन्दै आपत्ती जनाएको थियो ।

शिक्षा समिति संयोजक गिरीले गाउँपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न सरुवा भएका शिक्षक अशोज १ गतेदेखि सम्बन्धित विद्यालयमा हाजिर भइसकेको बताए ।

शिक्षक हाजिर भएपछि अब समस्या समाधान भएको छ उनले भने । उपाध्यक्ष गिरीले गाउँपालिकालाई दिएको अधिकार प्रयोग गर्दा शिविसइले शिक्षकका संघ संगठनको बलमा क्षेत्राधिकार नाघेर हस्तक्षेप गर्नु निन्दनीय भएको बताए ।

‘दोस्रो गाउँसभाले सर्वसम्मत पारित गरेको शिक्षा नियमावली, २०७५ लाई आधार मानेर २/४ जना शिक्षकलाई ओल्लोबाट पल्लोमा गईदेउ भन्दा रोइलो गर्नु पर्ने कारण के’, शिक्षा संयोजक गिरीले भने, ‘ शिक्षकको तलवभत्ता दिन मिल्ने, विद्यालय खोल्ने बन्द गर्न अधिकार हुने अनि वर्तिरको पर्तिर गईदेउ भन्न नहुने पनि हुन्छ र ?’

‘हल्दिबारीले गतवर्ष शिक्षा क्षेत्रमा साढे ७ करोड लगानी ग¥यो, यो वर्ष पनि ४ करोड भन्दाबढी लगानी गर्दैछ, गिरीकोप्रश्न छ, ‘लगानी गर्दा चाहिँ सबै ठीक सरुवा गर्दा टाउको किन दुखाउने । ’ शिविसइ प्रमुखले समन्वय मात्र गर्ने हो स्थानीयतहले गर्ने निर्णयमा हस्तक्षेप गर्ने होइन गिरीले भने ।

लोकतन्त्र, गणतन्त्र ल्याउन शिक्षकले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै गिरीले त्यसो भन्दैमा राजनीतिक दलको झण्डा बोकेर विद्यालयमा संघ संगठनका नाममा राजनीति गर्न नदिने बताए । उनले चाँडै शिक्षक संघ संगठनका बारेमा पनि गाउँपालिकाले आवश्यक निर्णय लिने बताए ।

गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले सरुवा गरिएका शिक्षक सम्बन्धीत विद्यालयमा गई कामकाज नगरे कडा कारबाही गरिने बताए । ‘गाउँपालिका आफ्नो निर्णयमा अडिक छ’, अध्यक्ष लिङ्देनले भने, ‘शिक्षक संगठनको नाममा कोही कसैको बहकाउमा लागेर काम गर्दैन भने गाउँपालिकाले कारबाही गर्छ ।’

शिविसइ झापाका प्रमुख जयप्रसाद महतले गाउँपालिकाले गरेको निर्णयमा हस्तक्षेप नगरेको बताए । ‘हाम्रो हस्तक्षेप गर्ने अधिकार पनि छैन र, हस्तक्षेप गरेको पनि होइन’ शिविसइ प्रमुख महतले भने, ‘संक्रमणकालीन अवस्थामा ऐन, कानुन बन्ने क्रममा छ, अधिकार बाँढफाँड भएको छैन, त्यसैले समन्वय गरेर गरौँ मात्र भनेको हो, रोकेको होइन ।’

‘गाउँपालिकाले गरेको निर्णय अनुसार विद्यालयमा शिक्षकले हाजिर हुँदा केही बिग्रने होइन’, महतले भने, ‘पहिलेको शिक्षा ऐन खारेज भइनसकेको हुँदा पुरानो परिपाटी अनुसार शिक्षक संघ संगठनको माग अनुसार समन्वयात्मक ढंगले गरौँ भन्ने आग्रह हो ।’

उनले यो विषयलाई चर्कन नदिन चाँडै गाउँपालिकासँग बसेर टुङ्ग्याउने पनि बताए । पालिकालाई संविधानले दिएको अधिकार प्रयोग गर्दा शिक्षक संघ, संगठन र शिविसइसँग समन्वय गरेर कदम चाल्न उनको आग्रह छ ।

गाउँपालिका र शिविसइबीच समन्वयको अभावमा विवाद चर्किएपछि सरुवा भएका १३ जना शिक्षक अन्योलमा परेका थिए ।

निर्णय रोक्न शिविसइले पत्र काटेपछि गाउँपालिकाले तत्कालै ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको थियो ।

शिक्षक सरुवाको विषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईले गरेको निर्णयको पक्षमा नेपाल शिक्षक महासंघ जिल्ला समिति झापा लगायतले पनि विज्ञप्ति जारी गरी विरोध जनाएका थिए ।