शिखर बजार दोहोरी साँझ : गलबन्दीका गायक प्रकाश र शान्तिश्री बिर्तामोड आउने

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / बिर्तामोडस्थित बिर्ताबजारमा सञ्चालित शिखर बजारले चर्चित लोकदोहोरी गलबन्दी च्यातियो गीतका गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको साथमा दोहोरी साँझ आयोजना गर्ने भएको छ ।

तीनवर्ष अघि सुरु भएको शिखर बजारले तेस्रो वार्षिक उत्सवको अवसर पारेर असार २८ गते दोहोरी साँझको आयोजना गर्न लागेको संस्थाका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।

उपभोक्तालाई गुणस्तरीय सामग्री प्रदान गर्दै आएको शिखर बजारले संस्थाको वार्षिक उत्सव अविस्मरणीय बनाउन सांगितिक कार्यक्रम गर्न लागेको सञ्चालक राउतले बताए ।

तीनवर्षको अवधिमा संस्थाले बिर्तामोडको शनिश्चरेरोडमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थानीय युवाको सामुहिक लगानीमा सञ्चालित शिखर बजारले खाद्यान्न, कस्मेटिक, गिफ्ट लगायतका सामग्री बिक्री वितरण गर्दै आएको राउतको भनाइ छ ।

यसअघि चर्चित गायक प्रमोद खरेलकासाथ सांंगितिक कार्यक्रम गर्दै संस्था उद्घाटन गरेको शिखर बजारले मिस नेपाल सुगारिका केसी, सञ्चारकर्मी राधाकृष्ण धितालका साथमा विभिन्न कार्यक्रम गरिसकेको छ ।

सामाजिक सेवामा समेत काम गर्दै आएको शिखरले बिर्ताबजारको अन्दुवाखोलाका बाढी प्रभावित, जलथल र बनियानीका दैवी प्रकोप प्रभावितलाई खाद्यान्न सहयोग गरिसकेको छ ।

संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले वार्षिक उत्सवमा पश्चिमी लोक दोहोरी गायक गायिकाको साथमा दोहोरी साँझ आयोजना गर्न लागेको उनले बताए ।

त्यसका लागि शिखर बजारले २ हजार ५०० बराबरको सामान खरिद गर्दा एउटा टिकट उपलव्ध गराउने योजना ल्याएको छ ।

दोहोरी साँझका लागि आयोजकले १ हजार र २ हजार ५०० को टिकटको व्यवस्था गरेको छ । पच्चीस सयको टिकट खरिद गरेर सपरिवार दोहोरी साँझको आनन्द लिन सकिने बताएको छ ।