संविधान दिवसमा नेकपाले झापामा १५ हजार कार्यकर्ता उतार्ने

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटिको तेश्रो पूर्ण वैठक मंगलबार सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा बसेको बैठकले पाचौँ संविधान दिवस झापामा भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

नेकपाका पार्टी सदस्यहरुको उपस्थितिमा बिर्तामोडको मुक्तिचोकमा १५ हजार कार्यकर्ता उतारेर संविधान दिवस मनाउने कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए । संविधान दिवसमा आयोजित कार्यक्रमलाई पार्टी शिर्ष नेताले सम्बोधन गर्ने छन् ।

भदौ २८ गते हुने गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको साधारण सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने छन् । सो कार्यक्रममा अर्का नेता सुवासचन्द्र नेम्वाङले समेत सम्बोधन गर्ने पार्टी सचिव मणिकुमार साम्पाङले जानकारी दिए ।

साथै नेकपाको जिल्ला स्तरीय बैठकले गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा भव्य रुपमा सम्पन्न गर्न पार्टीका स्थानीय तह, कमिटीका पदाधिकारी र सो भन्दा माथिका नेताहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।

असोज ३ गते संविधान दिवसको दिन बेलुका दिपावली गर्ने , सबै पार्टी सदस्यले आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउने, दिउँसो १२ बजे बिर्तामोडमा जनसभाको आयोजना गर्ने, सो सभामा क्षेत्र नम्बर १ बाट २ हजार ५००, क्षेत्र नम्बर २ बाट ५ हजार जना, क्षेत्र नम्बर ३ बाट १ हजार ५००, क्षेत्र नम्बर ४ बाट २ हजार र क्षेत्र नम्बर ५ बाट २ हजार ५०० जना कार्यकर्ता उतार्ने निर्णय गरेको कार्यालय सचिव ढुंगेलले जानकारी दिए ।

जनसभाको व्यवस्थापनका लागि बैठकले संविधानसभाका पूर्व सांसद्
प्रेम गिरी संयोजक र अरुण श्रेष्ठ उपसंयोजक रहेको १४ सदस्यीय समिति निर्माण गरेको छ । समितिमा खड्ग तिम्सिना (पवन), प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी, एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई, हरी राना, सार्दुल ओली, पुण्यप्रसाद खरेल, प्रकाश भट्टराई, र शिव ढुङ्गेल सदस्य रहेका छन् ।

बैठक प्रदेश कमिटीका सह–इञ्चार्ज नरेश खरेल, जिल्ला सह–इञ्चार्जहरु देबेन्द्र दाहाल, हरि राजवंशी र प्रदेश कमिटी सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।