सरकारले एकेडेमी बनाउँछ : मुख्यमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  


विराटनगर / प्रदेश– १ का मुख्यमन्त्री शरेधन राईले प्रगतिशील समाज निर्माणका लागि सरकारले एकेडेमी बनाउन लागेको बताएका छन् ।

सोमबार बौद्धिक सरोकार केन्द्रले विराटनगरमा आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु पुस्तकको बिमोचन गर्दै मुख्यमन्त्री राईले सचेतनामुलक समाज निर्माणका लागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन लागेको बताएका हुन् ।

प्रदेशस्तरीय उक्त एकेडेमीमा प्रतिष्ठित बिद्धानलाई सहभागी गराएर समाजमा प्रगतिशील साँस्कृतिक चेतनाको विकास गराउने मुख्यमन्त्री राईले बताए ।

उनले हजारौँ वर्षदेखी जकडिएर बसेको अन्ध विश्वासी चेतलाई हटाएर प्रगतिशील चेत निर्माण गर्न प्रदेशका सबै बिद्धान लेखहरुलाई कलम चलाउन आग्रह पनि गरे ।

संघीय गणतन्त्र स्थापना भएर देशमा नयाँ युग सुरु भइसके पनि अझै समाजको चेत पुरातन नै रहेकोले नयाँ बनाउनका लागि बिद्धान वर्गलाई आग्रह गर्दै मुख्यमन्त्री राईले भने, ‘सचेत लेखकहरु सबैले प्रगतिशिल पनबारे कलम चलाउन आवश्यक छ अनिमात्र परिवर्तन सँस्थागत हुनसक्नेछ ।’

उनले इमान र सकारात्मक सोचको विकास हुनसके मात्र नयाँ यूग संस्थागत हुनसक्ने बताउँदै मुख्यमन्त्री राईले आडम्बरी चेतले देशको विकास हुन नसक्ने जनाए ।

भने , ‘कुहिएका , गलेका , सडेका, चिजहरुको भारी बोकेर नयाँ चीज प्राप्त हुनसक्दैन त्यसलाई जरैदेखी उखेलेर फयाँक्नुपर्छ ।’

उनले प्राडा गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु प्रगतीशील साँस्कृतिक चेतको विकास गराउनका लागि फरक दृष्टिकोणबाट लेखिएको पुस्तक अति नै महत्वपूर्ण र सान्दर्भिक भएको बताए । पुस्तकको प्रशंसा गर्दै उनले भने – ‘यो पुस्तक खराव व्यवहारसँग पौठेजोरी खेल्दै नयाँ मान्यता स्थापित गराउन सफल हुनेछ ।’

आस, त्रास, वतासको प्रभावबाट मुक्त्त पुस्तक

विमोचन कार्यक्रमा प्राडा बद्री विशाल पोखरेललले हिन्दु धर्म र संस्कृतिको विकृतीबारे लेखिएको पुस्तक ओझलका यथार्थ आश , त्रास र वतासबाट मुक्त रहेको बताए ।

प्राडा पोखरेलले अन्ध विश्वासको भासामा फसेर समाजवाद आउँदैन भन्दै प्रगतिशील चेतको विकासका लागि सरकार र राजनीतिक पार्टीहरु लाग्नुपर्नेमा जोड दिए ।

प्रोफेसर कृष्ण पोखरेलले ओझेलका यथार्थ हिन्दु धर्म संस्कृति , बेद , पुराण , रामायण , महाभारत आदि ग्रन्थहरुको सत्यता बुझाउन लेखिएको बताए ।

नेकपाका केन्द्रीय सदस्य बिनोद ढकालले ओझेलका यथार्थ पुस्तक लेख्ने लेखक प्राडा क्षेत्री सांस्कृतिक क्षेत्रका शिखर बौद्धिक व्यक्ति भएको बताए ।