सावित्रा बनिन् सर्वाधिक गोल गर्ने खेलाडी

  •  
  •  
  •  
  •  
  •  
  •  


कठमाडौँ / स्टार फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छिन् ।

सावित्राले किर्गिस्तानमा बिहीबार सम्पन्न नादेझ्दा कपको फाइनलमा नेपालका लागि दुई गोल गर्दै यसअघि अनु लामाको नाममा रहेको सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी हुन् । अनु र सावित्राको ३५–३५ गोल भएको छ । सावित्राले नेपालका लागि ३३ खेल खेल्दै ३५ गोल गरेकी हुन् ।

नेपाल नादेझ्दा कपको फाइनलमा उज्बेकिस्तानसँग ३–० ले पछि परेको अवस्थामा ६७औँ मिनेटमा सावित्राले पहिलो गोल गरेकी थिइन् ।

सरु लिम्बुले मैदानको मध्यभागबाट बल अघि बढाउँदै डी बक्सभित्र सावित्रालाई पास दिएकी थिइन् । सावित्राले वान भर्सेस वानमा पहिलो टचमै एक गोल गरिन् ।

खेलको अन्तिम मिनेटमा डी बक्सभित्र उज्बेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ३५ र्पुयाएकी हुन्। खेलमा नेपाल ३–२ ले पराजित भयो ।

चार खेलमा ७ गोल गरेकी सावित्रा प्रतियोगिताकी सर्वाधिक गोलकर्ता समेत हुन् ।
यस प्रतियोगिताका चार खेलमा नेपालले गरेका ११ गोलमध्ये सावित्राले ७ गोल गरिन् । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले हराउँदा सावित्राले चार गोल गरेकी थिइन् ।

यस्तै लिग चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १–० पराजित गर्दा सावित्राले निर्णायक गोल गरेकी थिइन् । फाइनलमा थप २ गोल गर्दै सावित्राले अनुको कीर्तिमानमा बराबरी गरेकी हुन् ।