हल्दिबारीको ‘रातो किताब’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  


हल्दिबारी / हल्दिबारी गाउँपालिकाले अघिल्लो सभाले पारित गरेका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

चौथो गाउँसभाले पारित गरेको ३७ करोड रुपैयाँ बराबरको नीति तथा कार्यक्रम भेलागढी लोकतान्त्रिक सहिद स्मृति पार्कमा कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

हल्दिबारीले सार्वजनिक गरेका कार्यक्रमहरु हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि, ‘हल्दिबारीको बाचा, झापाभरि माछा’ भन्ने अभियानलाई चौथो गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा दोहो¥याएको छ ।


गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान र गाउँपालिकाको आन्तरीक स्रोत गरी ३७ करोड १९ लाख २१ हजार रुपैयाँको नीति तथा कार्यक्रम ‘रातो किताब’ संघीय सांसद राजेन्द्र लिङ्देन, संविधानसभा सदस्य मोहन टुडु, प्रदेश सांसद पूर्णप्रसाद राजवंशी लगायतले सामुहिक रुपमा सार्वजनिक गरेका थिए ।

कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले ‘किसानको खुसी, पशुपालन र कृषि, रहेकोले यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको जानकारी दिए ।

नवराज र मेनुका सदुभावना दुत

गाउँपालिकाको नीति तथा कार्यक्रममा साहित्यिक मन, कृषि र पर्यटन अभियान अन्तर्गत हल्दिबारीका कवि एवम् साहित्यकार नवराज पराजुलीलाई हल्दिबारीको छोरा र भारतीय रियालिटी सो सारेगामापामा ११ स्थानमा पुग्न सफल गायिका मेनुका पौडेललाई हल्दिबारीकी छोरी उपमाले सम्मान गरी स्थानीय पर्यटन प्रवद्र्धन गर्नका लागि सद्भावना पर्यटन दूतको रूपमा नियुक्त गर्ने भएको छ ।


‘फेरि पनि घुम्न जाऔँ हल्दिबारी गाउँ’ भन्ने अभियानलाई सफल बनाउन भेलागढी लोकतान्त्रिक सहीद स्मृति पार्क निर्माण कार्यलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

यो वर्ष एक लाख पर्यटक भित्र्याउन हल्दिबारी महोत्सवको आयोजना गर्ने पनि कार्यक्रममा जानकारी दिइयो ।

नीति तथा कार्यक्रममा ‘समृद्धि पालक, सामुदायिक बिद्यालयमा कम्प्युटर शिक्षा प्रवद्र्धन, घुम्ती कम्प्युटर र खेल प्रशिक्षकको व्यवस्थालाई निरन्तरता, सामुदायिक विद्यालयमा अध्ययनरत् कक्षा ५ सम्मका सबै विद्यार्थीलाई पोशाक र स्कुल ब्याग निःशुल्क वितरण गर्ने कार्यक्रमलाई नरन्तरता दिने जनाएको छ ।

त्यस्तै कक्षा ११ र १२का विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, विद्यालयमा कार्यरत सहायक कार्यकर्ता तथा सहयोगी कर्मचारीलाई प्रचलित श्रम ऐन अनुसार सेवासुविधा उपलब्ध गराइने, एक वडा एक मावि को अवधारणा अघि बढाउने, लोोपोन्मुख मेचे समुदायको भाषा संरक्षण गर्न दीपेन्द्र प्राविमा दैनिक एक कक्षामा मेचे भाषाको पठनपाठन सुरु लगायतका कार्यक्रम नीति तथा कार्यक्रमले अघि सारेको छ ।

दृष्टिविहीनलाई ल्यापटप, कर्मचारी सम्मानित

कार्यक्रमका दुई जना दृष्टिविहीन बिद्यार्थीलाई ल्यापटप प्रदान गरिएको छ । गाउँपालिकाले मास्टर डिग्री गर्ने दृष्टिविहीन छात्र दिलीपकुमार राजवंशी र स्नातक तहमा अध्ययनरत् दृष्टिविहीन छात्रा सरस्वती थामीलाई प्रोत्साहन स्वरुप एक÷एक थान ल्यापटप प्रदान गरेको छ ।

मेचे भाषाका पुस्तक लेखक सन्तलाल मेचेलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट कार्य गर्ने दुई जना कर्मचारीलाई पुरस्कृत गरियो । सर्वोत्कृष्ट कर्मचारीका रुपमा इञ्जिनियर संकल्प खनाललाई नगद ३० हजार र खरिदार विशाल काफ्लेलाई नगद २० हजारसहित सम्मानपत्रले पुरस्कृत गरियो ।

कार्यक्रममा सांसद लिङ्देन, संविधानसभा सदस्य मोहन टुडु, प्रदेश सांसद पूर्णप्रसाद राजवंशी लगायतले नीति तथा कार्यक्रमबारे बोलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।