मिडिया काउन्सिल विधेयक पत्रकारलाई जेल हाल्नको लागि ल्याइएको होइन : मन्त्री बाँस्कोटा

  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोट / सुचना तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक पत्रकारकै हकहितको लागि ल्याइएको दावी गरेका छन् । मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयक पत्रकारलाई जेल हाल्नको लागि नभई पेशाप्रति जिम्मेवार र मर्यादित बनाउनको लागि भएको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

आइतबार नुवाकोट सदरमुकाम विदुरमा नेपाल प्रेस संगठन नुवाकोटले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्र देशको समृद्धि र राष्ट्रिय स्वाधिनताको विरुद्धमा लाग्न नदिनको लागि पनि यो विधेयक ल्याइनु परेको बताए । ‘सरकारविरुद्ध जतिसुकै लेखेपनि छुट हुन्छ, मन्त्री बाँस्कोटाले भने, ‘लोकतन्त्र, समृद्धि र स्वाधिनताको विरुद्ध लेख्ने छुट पत्रकारलाई छैन ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले हावादारी र अर्काको मानमर्दन हुने पत्रकारिताले देशमा समृद्धि कायम नहुने बताउँदै त्यसको नियमनको लागि प्रस्तावित मस्यौदाले काम गर्ने बताए ।

मस्यौदामा के्ही कमजोरी भए त्यसलाई सच्याउन सरकार तयार रहेको स्पष्ट पार्दै आन्दोलनको पछि नलागि छलफलमा आउन सम्बन्धित पक्षलाई आग्रह गरे ।

उनले अहिलेको सरकारले समानुपातिक विज्ञापन प्रणालीको विकास र पत्रकारको सामाजिक सुरक्षाको लागि पाँच करोड ३४ लाखको कोष स्थापना गरेको दावी गर्दै त्यसलाई प्रेस विरोधी र प्रेसमाथिको अंकुशको रुपमा चित्रण नगर्न चेतावनी दिए ।

प्रजातन्त्र र लोकतन्त्रको पाठ कम्युनिष्टलाई कुनै दलले सिकाउन नपर्ने बताउँदै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक व्यवस्था, स्वतन्त्र पत्रकारिता विरुद्धको कुनै कदम सरकारले नचाल्ने बताए ।

देशको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्तामा आँच पु¥याउने युद्धमा आउ, हतियार बोक, लुट्न आउँ, देश टुक्र्याउन पाइन्छ भनेर सार्वजनिक अपिल गर्नेहरु यो मस्यौदाबाट डराउनुपर्ने उनले बताए । ‘निष्पक्ष समाचार लेख्नेहरुलाई यो मस्यौदाले छुँदैन’, मन्त्री बाँस्कोटाले भने । अरुलाई सिध्याउन, मानमर्धन गर्न र विज्ञापन दिएन भनेर तथानाम सराप्ने पत्रकारितालाई यसले नियमन गर्न खोजेको मन्त्री बास्कोटाले बताए ।