श्रीप्रसादलाई जीपी फाउन्डेसनको सहयोग

झापा / गिरिजाप्रसाद कोइराला फाउन्डेसन झापाले अस्वस्थ अव्यवस्थामा रहेका एक व्यक्तिलाई राहत उपलब्ध गराएको छ ।
फाउन्डेसनले झापा कमल गाउँपालिका -१ धाधर गाउँका श्रीप्रसाद राईलाई राहत उपलब्ध गराएको हो । राई एक वर्ष अघिदेखि कुष्ट र क्षयरोगले थलिएका व्यक्ति हुन् ।
कोरोना संक्रमणको त्रासका कारण जारी बन्दाबन्दीको बेला खाना खान असहज नहोस् भनेर राहत उपलब्ध गराइएको फाउन्डेसनका अध्यक्ष बुद्धिराज न्यौपानेले जानकारी दिए । राईलाई २५ केजी चामल,एक लिटर तेल,एक किलो दाल उपलब्ध गराएको न्यौपानेले बताए ।
नेपाली काङ्ग्रेस साविक तोपगाछी गाउँ सभापति समेत रहेका न्यौपानेले कमल – १ का वडाध्यक्ष केदार कटुवाललाई आग्रह गरेर वडा कार्यालयबाट नगद पाँच हजार समेत उपलब्ध गराइएको छ । सवारी साधनको प्रबन्ध गरी राईलाई स्थानीय स्वास्थ्य चौकी पुर्याउइ स्वास्थ्य परीक्षण समेत गराइएको संयोजक न्यौपानेले बताए ।
राईलाई कुष्टराेग विषेशज्ञ डाक्टर पर्शुराम पोखरेलले घरमै आएर उपचार गर्ने आश्वासन दिएको फाउन्डेसनका सचिव महेन्द्र भट्टराईले जनाए । आफूहरुको आग्रह पछि डाक्टर पोखरेलले त्यस्तो आश्वासन दिएको भट्टराईले बताए ।