बालुवाटारमा प्रधानमन्त्रीले गरे सांसदहरुको भेला, हस्ताक्षर संकलन पनि शुरु

काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तेस्रो दिन पनि सांसदहरुसँगको छलफललाई निरन्तरता दिएका छन् ।
सोमवारदेखि शुरु भएको सांसदहरुसँगको छलफल बुधवार पनि बालुवाटारमा दिउँसो १ बजेपछि जारी भएकाे हाे ।
बुधवारको छलफलमा सहभागी एक सांसदले हस्ताक्षर अभियान पनि शुरु भएको बताए ।
मन्त्रीहरुलाई भने पछिमात्र हस्ताक्षर गराउने तयारी रहेको स्रोतको भनाई छ ।
सोमबार र मंगलबारको छलफलमा प्रधानमन्त्री ओलीले सरकार विरुद्ध घेराबन्दी भएको भन्दै प्रतिवादमा उत्रिन आफु निकट सांसदहरुलाई निर्देशन दिएका थिए ।
राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका हुन् ।
यसका लागि उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई व्यक्तिगत रूपमा पनि भेट गरिरहेका छन् ।
पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जोडतोडको राजनीतिसहित संसदीय दलमा बहुमत पुर्याउने योजनामा छ ।
सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको भन्दै ओली समूहका सांसदे आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर शुरु गरेका हुन् ।
नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् ।
वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित माधव नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ ।
पूर्वमाओवादी समूहका ५३ समेत जाेड्दा आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ ।
उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ ।
बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।
नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेको छ । नयाँ पत्रिकामा खबर छ ।