• September 20, 2020

लकडाउन होस् त हल्दिबारी १ गोलधापको जस्तो

 लकडाउन होस् त हल्दिबारी १ गोलधापको जस्तो
मनपरे शेयर गरौ ! 


गोलधाप / लकडाउन होस् त यस्तो । न सडकमा गाडीघोडा चल्छ, न मानिसको आवागमन नै । सबै सुनसान, सबै ठप्प ।

वडाको मुख्य बजार, बजारका सडक र साखा सडक सबै सुनसान प्राय: छ । कोहि कोहि सर्वसाधारण फाट्टफुट्ट निस्कन्छन् । चोकमा प्रहरीले चेकजाँच गरिहाल्छन्, सडकमा प्रहरीले उभ्याउछन् भनेर कोहि निस्कँदैनन् ।

अत्यावश्यक औषधी खरिद गर्न बाहेक सर्वसाधारणलाई बाहिर निस्कन पूर्ण निषेध छ । खाद्यान्न आवश्यक परे सोझै पसलेलाई फोन जान्छ, पसलेले सामान ढुवानी घरघरमै गर्दिन्छन् । अत्यावश्यक खाद्यान्नका पसल पनि पुरै बन्द छ ।

वडाकार्यालयले सिमित पसललाई मात्र टोल टोल विभाजन गरेर सामान डेलिभरी गर्ने छुट दिएको छ । त्यहाँ जुन पायो त्यहि किराना पसल खुल्दैनन् । हाट बजार, तरकारी पसलको त कुरै छाडौँ । सबै बन्द । तरकारी पनि घरघरमै पुग्छ ।

यदि कुनै सामान खरिद गर्न जानु पर्यो भने टोल टोलमा समिति बनाइएको छ । त्यो समितिको संयोजकलाई जानकारी गराएर मात्र परिवारको एक जना सदस्य निस्कन पाउँछन् ।

यो झापाको हल्दिबारी गाउँपालिका १ गोलधापमा लकडाउनका बेला लगाइएको र प्रयोगमा ल्याइएको नियम हो । वडाध्यक्ष त्रिलोचन सापकोटाले सरकारले देश लकडाउन गरेयता आफ्नो वडाबासीको सुरक्षालाई मध्यनजर गरि लगाएको यो नियम निक्कै प्रभावकारी देखिएको छ ।

यो नियमले स्थानयिबासीलाई थप अनुशासित र सुरक्षित बनाएको वडाध्यक्ष सापकोटाको भनाई छ ।
सम्भव भएसम्म सडकमा गुडेको सवारी कस्को हो किन गयो भनेर विषेश निगरानी बढाइन्छ यहाँ । जसका कारण असली लकडाउन गोलधापमा भएको देखिन्छ ।

कसरी प्रभावकारी भयो लकडाउन ?

लकडाउन सुरु भएपछि वडाबासीको सुरक्षाका लागि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र विभिन्न संघ संस्थाको रोहबरमा वडाध्यक्षको संयोजकत्वमा कोरोना रोकथाम तथा समन्वय समिति निर्माण गरिएको छ ।

सो समितिले लकडाउनलाई प्रभावकारी बनाउन र स्थानीयको अत्यावश्यक वस्तु अभाव हुन नदिन साविक गोलधाप गाविसको ३/३ वडा समेटेर ७/७ सदस्यीय तीवटै टोलस्तरीय समिति निर्माण गरिएको छ ।

त्यस्तै, वडासदस्य पदमसुन्दर राईको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय स्वयंसेवक समिति पनि निर्माण गरिएको छ । वडका ९ वटा टोलमा ७/ ७ सदस्यीय कोरोना सचेतना तथा स्वयंसेवक समिति बनाइएको छ ।

यसरी टोलटोलमा स्वयंसेवकसमिति निर्माण गरि गोलधापलाई कोरोना मुक्त बनाउन पहल गरेको वडाध्यक्ष सापकोटाले बताए ।

राहत वितरणमा टोल समिति
लकडाउनलाई प्रभावकारी बनाउन निर्माण गरिएको समितिले वडाका अति विपन्न, मजदुरको तथ्याङक संकलन गरेकाले राहत वितरणमा विवाद नआएको सापकोटाको भनाई छ ।

पहिलो र दास्रो पटकको राहत सामग्री खरिद तथा वितरण पनि ९ वटा टोल समितिकै रोहबरमा गरिएको थियो । वडासदस्य मनोज कुमार पोखरेल, कुमारी विश्वकर्मा , सरिता न्यौपाने वडाका कर्मचारीहरु लकडाउनको समयमा शनिबार पनि नभनि खटिइरहेका छन् ।

वडा लकडाउनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र प्रहरीको गहिरो समन्वय र सहकार्य रहेको छ । लकडाउन अनुगमन लगायत अन्य काममा स्थानीय प्रहरी प्रमुख असई राजकुमार थापा वडाध्यक्ष सापकोटासँग समन्वय गरेर जाने गर्दछन् । जसका कारण लकडाउन प्रभावकारी भएको छ ।

वडाले पहिलो चरणमा २५५ घरधुरीलाई १३ छाक खान मिल्ने गरि प्रतिव्यक्ति २५० ग्रामका दरले २५ केजीसम्म चामल वितरण गरेको सापकोटाले जानकारी दिए ।

दोस्रो चरणमा २८३ घरपरिवारलाई ७ केजीदेखि १५ केजीसम्म चामल परिवार संख्या हेरेर वितरण गरिएको छ ।

तेस्रो चरणमा ४१७ घरधुरीलाई राहत बाँढ्ने तयारी

तेस्रो चरणमा ४१७ घरधुरीलाई १५ केजीदेखि २५ केजीसम्म चामल, दाल १ केजीदेखि ३ केजीसम्म, तेल एक पोकादेखि २ लिटरसम्म, नुन १ केजीदेखि ३ पोकासम्म वितरण गर्न लागिएको वडाध्यक्ष सापकोटाले बताए ।

यहाँका स्थानीमा लकडाउनमा बाहिर निस्कन हुन्न भन्ने राम्रो चेतना जागृत भएको छ । वडाका शाखा सडकका घुम्ती पसलसम्म खुल्दैनन् यहाँ । पैसाबाट पनि कोरोना भाइरस सर्छ भन्ने चेतनाका कारण यहाँ कुनै दोकान खुल्दैनन् ।


हल्दिबारी १ गोलधापले सुरु गरेको यो मोडल जिल्लाका अन्य स्थानीय तहले र स्वयं गाउँपालिकाले लागु गरे कोरोनाको त्रासमा बस्नु पर्ने थिएन ।

मनपरे शेयर गरौ ! 

Related post