दमकका कोरोना संक्रमित वृद्धको सम्पर्कमा आएका ५७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

दमक / झापाको दमकका नगरपालिकाका ६२ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ५७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार नगरपालिकाको चिकित्सकसहितको टोलीले स्थानीय ७४ जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको दमककी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । दमक–३ का वृद्धमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।
जसमध्ये वडा नं. ३, ६ र ९ का ५४ जनाको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उपप्रमुख अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिइन् ।
बृद्धको सम्पर्कमा आएका कमल गाउँपालिकाले पनि स्थानीय ३ जनाको स्वाब परिक्षण गरेको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दमक नगरपालिकाले ३ नम्बर वडालाई गरेको ‘सिल’ हटाएको विज्ञप्तिमा उल्लेख छ ।