• September 29, 2020

काठमाडौमा अलपत्र परेका ६५ जना हल्दिबारी आइपुगे

 काठमाडौमा अलपत्र परेका ६५ जना हल्दिबारी आइपुगे
मनपरे शेयर गरौ ! 


हल्दिबारी / काठमाडौमा अलपत्र परेका ६५ जना हल्दिबारीबासी बिहीबार घर फर्किएका छन् । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण काठमाडौमा थुनिएर बसेका ६५ जनालाई गाउँपालिकाको विशेष पहलमा हल्दीबारी फर्काइएको हो ।


कार्यपालिकाको बैठकमा सम्बन्धित वडाका वडाध्यक्ष, सदस्यले काठमाण्डौमा रहेका नागरिकको तथ्याङक उपलव्ध गराएपछि तत्काल फर्काउने निर्णय गरेको थियो ।
तर, गुह मन्त्रालयले लकडाउनलाई थप प्रभावकारी बनाउने भन्दै जो जहाँ छन् त्यहि बस्न आग्रह गर्दै निर्णय गरेपछि उनीहरुलाई घर फर्काउन केहि ढिलो भएको थियो ।

काठमाण्डौमा थुनिएका करिब १५० जना हल्दिबारीबासी भएको बताइएको छ । तत्काल ६५ जनालाई फकाइएको र क्रमशः अरुलाई पनि फर्काउन पहल गरिने गाउँपालिकाका अध्यक्ष लिङदेनले बताए ।


गाउँपालिका आइपुगेका सबैलाई तत्काल चाउचाउ र पानीको व्यवस्था गरि स्वास्थ्य परिक्षण समेत गरिएको अध्यक्ष लिङदेनको भनाई छ । काठमाण्डौंबाट फर्कने सबैको यातायात खर्च समेत गाउँपालिकाले व्यहोर्ने गरि कार्यपालिकाको बैठकले निर्णय गरेको अध्यक्ष लिङदेनले जानकारी दिए ।

काठमाडौबाट हल्दीबारी फर्कने क्रममा काठमाडौंको जडिबुटी चोकमा प्रहरीले अवरोध गरेर दिनभर थुनिएर बसेका निजहरुलाई राति अबेरसम्मको अथक प्रयासबाट घर फर्काउन सफल भएको उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए ।


६५ जनालाई घर फर्काउन गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको विशेष पहलमा सम्भव भएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए


फरर्किएका मध्ये धेरै जना विभिन्न कामको सिलसिलामा, जनमजदुरी गर्न, वैदेशिक रोजगारीमा जानका लागि मेडिकल परिक्षण गर्न र विदेश जान भनि हिँडेका नागरिकहरु भएको बताइएको छ ।

लकडाउनको समयावधि बढेसंगै गाँस, बाँस र कपासको समस्या भएकोले घर फर्कने वातावरण मिलाई दिन पटक पटक काठमाडौंमा रहेका व्यक्ति तथा निजहरुका अभिभावकले गाउँपालिका कार्यालयसँग आग्रह गरेपछि घर पर्काउने प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पोर्तेलले बताए ।

फर्किएका व्यक्तिहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा लगेर स्वास्थ्य परिक्षण गरिएको छ ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनीहरुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरि कबुलियतनामा कागज गरेर बिहीबार नै घर पठाइएको स्वास्थ्य शाखा हल्दीबारीका प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।


क्वारेन्टाइनको अवधिभर निजहरुलाई दैनिक रुपमा वडाका स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्थाको अद्यावधिक गर्ने र केही जटिलता देखिएको खण्डमा तुरुन्त क्वारेन्टाइनमा ल्याई राखिने समेत स्वास्थ्य प्रमुख निरौलाले बताए ।

मनपरे शेयर गरौ ! 

Related post