• October 1, 2020

झापा बाह्रदशीका आलमसहित प्रदेश १ का १६ जना कोरोनालाई जितेर फर्किए घर

 झापा बाह्रदशीका आलमसहित प्रदेश १ का १६ जना कोरोनालाई जितेर फर्किए घर
मनपरे शेयर गरौ ! 

झापा / झापाको बाह्रदशी गाउँपालिकाका ४० वर्षीय महाजिर आलम उपचारपछि कोरोनालाई जितेर आइतबार घर फर्किएका छन् । १३ बैशाखमा कोरोना संक्रमण देखिएपछि आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए ।

उनको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार उनीमा संक्रमण देखिएको थियो । उनी मुस्लिम धर्मगुरु जमाती भएको बताइएको छ । बाह्रदशी-४ स्थित मस्जिदमा बस्दै आएका आलम फागुन २७ गते भारतबाट फर्केका थिए ।

उनीसँगै प्रदेश १ का १६ जना विरामी कोरोनालाई जितेर घर फर्किएका छन् । आइतबार पनि प्रदेश १ बाट दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाइनमा १४ दिन बस्ने बताएका छन् । आलमले घरमै निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताए ।

उनीसँगै भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राईका पनि उपचारपछि फर्किएका हुन् । राई गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका थिए ।

प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।

मनपरे शेयर गरौ ! 

Related post