• September 29, 2020

हल्दिबारीको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २८ लाखबढी रकम जम्मा, दोस्रो चरणको राहत बाँढ्ने तयारी

 हल्दिबारीको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २८ लाखबढी रकम जम्मा, दोस्रो चरणको राहत बाँढ्ने तयारी
मनपरे शेयर गरौ ! 

हल्दिबारी / हल्दिबारी गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा नगद तथा जिन्सी गरेर २८ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको छ ।

कोषमा मंगलबारसम्ममा नगद तथा जिन्सी सामग्रीसहित १९ लाख रुपैयाँ नगद तथा ९ लाख रुपैयाँ भन्दा बढीको जिन्सि सामग्री संकलन भइसकेको गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिए ।

कोभिड १९ को विश्वब्यापी महामारी फैलिएका बेला संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न, असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई राहत वितरण गर्न हल्दिबारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष समिति मार्फत कोरोना नियन्त्रण कोष तयार पारिएको थियो ।

कोषमा विभिन्न संघ संस्था, कर्मचारी, गाउँपालिकाका सर्वसाधारण, शिक्षक तथा राजनीतिक दलले आर्थिक तथा जिन्सी सहयोग गरेको अध्यक्ष लिङदेनले बताए ।

सो कोषमा हल्दिबारीका जनप्रतिनिधिको सेवासुविधा कट्टा गरी ३ लाख ५० हजार, करार कर्मचारीको तलव कट्टाबाट ८१ हजार ५३३ रुपैयाँ, गाउँपालिकाका स्थायी कर्मचारीको तलव कट्टीबाट १ लाख ५१ हजार ६१० रुपैयाँ, गाउँपालिका समन्वय समितिबाट २ लाख ४० हजार २३० रुपैयाँ, करार तथा ज्यालादारी शिक्षक कर्मचारीबाट ३ लाख ८० हजार ८३१ रुपैयाँ, श्यामबाबु सिटौला भद्रपुरबाट १ लाख रुपैयाँ जम्मा गरिएको छ ।

त्यस्तै, समिट माइक्रो फाइनान्सले ५० हजार रुपैयाँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हल्दिबारीले ७० हजार रुपैयाँ, संस्थागत विद्यालयको तर्फबाट ५४ हजार रुपैयाँ, सतासी सहकारी संस्थाले ५० हजार रुपैयाँ जम्मा गरेका छन् ।

कोषमा हाम्रो नेपाल साकोसको तर्फबाट ५१ हजार रुपैयाँ, सहारा नेपालबाट ६१ हजार रुपैयाँ, सिटिजन्स बैंक हल्दिबारीबाट २५ हजार रुपैयाँ र हल्दिबारी गाउँपालिका क्रिस्टियन समाजबाट ३० हजार रुपैयाँ लगायत अन्य ६० वटाभन्दा बढी संघ संस्था तथा व्यक्तिहरुले नगद तथा जिन्सी सहयोग गरेका छन् ।

कोषमा प्राप्त नगद तथा जिन्सिको आधारमा गाउँपालिका अन्तर्गतको प्रकोप ब्यवस्थापन समितिमार्फत पहिलो चरणमा १ हजार ६६३ घर धुरीलाई राहत वितरण गरिसकेको छ ।

गाउँपालिकाले दोस्रो चरणमा २ हजार ७१५ घरधुरीलाई राहत वितरण गर्ने तयारी रहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post