एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१७ पुग्यो

झापा / नेपालमा (कोभिड १९) कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ जना पुगेको छ ।
मंगलबार मात्रै नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएर तहल्का मच्चिएको बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा परिक्षण गर्दा थप २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
नेपालमा एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन सोमबार २४ जनामा संक्रमण पुष्टि भएको थियो ।
मंगलबार अबेर कोरोना पुष्टि भएका संक्रमितहरु मध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिलाहरु र १६, २२, २४, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरु रहेका छन् ।
त्यस्तै, महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष,धनुषाका २० वर्षीय महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
कोरोनाको प्रभाव भक्तपुर र काठमाडौँमा पनि देखिएको छ । भक्तपुरका २५ वर्षीय महिला, २७ वर्षीय पुरुष र काठमाडौँकी ३३ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि बताइएको छ ।