• November 28, 2020

असली राष्ट्रवादको खोजी

 असली राष्ट्रवादको खोजी
मनपरे शेयर गरौ ! 

गोविन्द केसी – विख्यात लेखक मार्क ट्वेनले छद्म राष्ट्रवादीहरूलाई व्यंग्य गर्दै भनेका छन्, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्को चिच्याउँछ तर केका लागि चिच्याएको भन्ने जान्दैन, त्यही राष्ट्रवादी हो ।’ अहिले संसारभर राष्ट्रवादलाई कुनै सस्तो नारामा संकुचित गर्दै राजनीतिक स्वार्थपूर्ति गर्ने तथा भिन्न समुदायमाथिको थिचोमिचोको औचित्य देखाउने अभ्यास चलिरहेको छ ।

तर, आधारभूत रूपमा त्यही व्यक्ति राष्ट्रवादी हो जसले राष्ट्र र समाजको सेवा गर्छ । त्यस्तो सेवा, जसले नागरिकको भलो गर्छ, उनीहरूलाई प्रगति गर्न सघाउँछ र न्याय दिलाउँछ । जब नागरिक स्वस्थ, शिक्षित, सक्षम र स्वाभिमानी हुन्छन्, तब मात्रै समाज र राष्ट्र बलियो बन्छ अनि राष्ट्रवाद सार्थक हुन्छ । जहाँ नागरिक निरीह रैतीको हैसियतमा हुन्छन्, त्यहाँ राष्ट्रियता बलियो हुनै सक्दैन र त्यहाँका शासक राष्ट्रवादी हुँदैनन् ।

पछिल्लो समय नेपालमा राष्ट्रवादको विषय फेरि एकपल्ट चर्चामा आएको छ । देशको सीमा मिचिँदा आम नागरिकको भावनामा ठेस पुग्नु र मानिस आवेगमा आउनु स्वाभाविक पनि हो । त्यसमाथि नेपालको उत्तरपश्चिम सिमानामा लिम्पियाधुरादेखि सीमा मिच्दै आएको भारतले अब लिपुलेक कब्जा गरेर त्यहाँ सडक खन्ने कामसमेत गरेको छ । देशका अन्य भागमा समेत सीमा मिचिनु सामान्य बनेको छ । त्यसबाहेक सीमा क्षेत्रका नेपालीमाथि भारतीय पक्षबाट बारम्बार गरिने ज्यादती अलग्गै छ ।

छिमेकीको यस्तो ज्यादती वर्षौंदेखि चलिरहँदा पनि नेपाल सरकारको रवैया के छ त ? चर्का राष्ट्रवादी कुरा गर्ने तर समस्या समाधान गर्न सिन्को नभाँच्ने । केही महिनाअगाडि भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्दा नेपालमा चर्को विरोध त भयो तर कूटनीतिक स्तरमा सरकारले उपलब्धिमूलक कुनै काम गर्न सकेन । अहिले भारतले नेपाली भूमिमा सडक बनाएर उद्घाटन गरिसकेपछि बल्ल नेपाल सरकारले यो विषयमा केही बोलेको छ ।

योजस्तो लाजमर्दो कुरा अर्को के होला ! देशको प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो भूमिमा अरूले सडक खनेको थाहै पाइनँ भन्नुजस्तो गैरजिम्मेवारीपन के हुन सक्छ ? संसारमा कुनै पनि देशको राजनीति यति मजाकको भरमा चल्दैन ।

हामी जतिसुकै आवेग र उत्तेजनामा आए पनि यथार्थ के हो भने, देशको कूटनीति आफ्नो मजबुती र ‘बार्गेनिङ पावर’ का भरमा मात्रै चल्छ । अर्को देशसित कुरा गर्न टेबलमा बस्दा आफूमुनिको धरातल कति बलियो छ, त्यति नै दह्रोसित हामी कुरा राख्न सक्छौं । त्यो धरातल बिर्सेर सतहमा मच्चाइने कुनै पनि कोकोहोलो अर्थपूर्ण हुँदैन ।

जबसम्म हामीले समाज र राष्ट्रका रूपमा हाम्रा आधारभूत आवश्यकता पूरा गर्न अरूसित हात फैलाउनुपर्छ, जबसम्म हाम्रा नेताहरू पार्टी र गुटको झगडा मिलाउन छिमेकी देशका शासकको मुख ताक्ने अवस्थामा रहन्छन्, तबसम्म हामी खडा भएको धरातल मजबुत हुन सक्दैन ।

जबसम्म नेताहरूले भ्रष्टाचार र कुशासनमार्फत देशलाई खोक्रो बनाएर यसको आँत सुकाउँछन्, तबसम्म जतिसुकै राष्ट्रवादी कुरा गरे पनि त्यसले अर्थ राख्दैन । नेताहरूले देशभित्रको असफलता र बरबादी छोप्न राष्ट्रवादलाई खोलका रूपमा प्रयोग गरे भने त्यसले झनै विसंगत अवस्था सिर्जना गर्छ ।

त्यसो भए, नेपालमा विकसित हुनुपर्ने राष्ट्रवाद कस्तो हो त ? पछिल्लो समय, खास गरी सत्ता वा त्यसवरिपरि हुनेहरूले कस्तो भान पार्न खोजेका छन् भने, कुनै एउटा देशको पाउबाट उठेर अर्को देशको पाउमा लम्पसार पर्नु नै राष्ट्रवाद हो । एकातिरको चरम परनिर्भरता अर्कातिर सार्नु भनेको हाम्रो कमजोरीको रूप बदल्नु मात्रै हो, हामी सबल बन्नु वा हाम्रो ‘बार्गेनिङ पावर’ बढ्नु हैन ।

त्यसो गर्दा एउटा छिमेकीले हामीलाई अर्काको अतिक्रमणबाट बचाइहाल्छ वा उसको स्वार्थलाई दाउमा राखेर हाम्रो स्वार्थका लागि काम गर्छ भन्नु भ्रम मात्रै हो, जुन यसअगाडि नै बारम्बार पुष्टि भइसकेको छ । आ-आफ्नो स्वार्थअनुसार चीन र भारतले कसरी क्रमशः तिब्बत र सिक्किमलाई निले र ‘तैं चुप, मै चुप’ को अवस्थामा पुगे भन्ने इतिहास हामीसामु छ ।

भारत र चीन मात्र नभई देशबाहिरको कुनै पनि शक्तिकेन्द्रप्रति ‘त्वं शरणम्’ हुँदै उसको भजन गाउनु राष्ट्रवाद हैन । हामीलाई त एउटाको काँधबाट अर्काको काँधमा हुत्तिने हैन, हाम्रै दुई खुट्टाका भरमा स्वतन्त्र रूपमा उभिने र आफ्नै बलबुतामा प्रगति गर्ने क्षमता विकास गर्नु आवश्यक छ । यो काम सजिलो छैन तर देशका रूपमा नेपाललाई बलियो र स्वाभिमानी बनाउने हो भने हामीले यसो गर्नुको विकल्प छैन ।

सीमा मिचिएका बेला चुलिने अनि अरू बेला शिथिल हुने मौसमी राष्ट्रवादले हामीलाई सक्षम र स्वाभिमानी बन्न सघाउँदैन । राष्ट्रवाद हाम्रा लागि मौसमी नाराबाजीको विषय बन्नु हुँदैन, हामीले दिनदिनै बाँच्ने जीवनको महत्त्वपूर्ण हिस्सा हुनुपर्छ ।

राष्ट्रवादमाथिको अहिलेको बहसमा अर्को महत्त्वपूर्ण पक्ष पनि छुटेको छ । नेपालको नमिचिएको भूमिमा रहेका मानिसहरूको जीविका र आत्मसम्मानको संघर्षलाई नसमेट्ने राष्ट्रवादले हाम्रो समाजलाई अगाडि बढ्न सघाउँदैन । कोही रोगका कारण पीडामा छ, उपचार नपाएर छटपटाइरहेको छ भने समाजका रूपमा हामीले उसको उपचारको व्यवस्था गर्न सक्नुपर्छ, उसलाई कुनै खालको नारा सुनाएर हुँदैन ।

भोक, अशिक्षा, बेरोजगारी र गरिबीमा पिल्सिएको मानिसलाई खाना, शिक्षा र रोजगारी सुनिश्चित गर्न हामी सक्षम हुनुपर्छ । यो काममा अहिलेको सरकार कति निकम्मा र संवेदनहीन छ भन्ने त कोरोना महामारीका दौरान हामीले देखेकै छौं । अहिले सरकार कोरोनाका नाममा नागरिकमा सन्त्रास फैलाउनमा लिप्त छ, जबकि यसबीच अरू रोगको उपचार नपाएर धेरै मानिस मरिरहेका छन् । नागरिकलाई भोकैप्यासै छाडेर सरकारले राष्ट्रवादको नारा मात्रै लगाइरहनु शोभनीय हुँदैन ।

यदि हामीले देशलाई सबल र अन्तर्राष्ट्रिय मञ्चमा स्वाभिमानपूर्वक खडा हुन सक्षम बनाउने हो भने सुरुमा त हाम्रो राज्य सुध्रिनु र सम्हालिनुपर्छ । सत्तामा पुग्नेहरूले शक्तिलाई राज्यस्रोत दोहन गर्दै आत्मसमृद्धिको माध्यम बनाउन बन्द गर्नुपर्छ । कुनै पनि भ्रष्ट व्यक्तिले राष्ट्रवादको नारा लगाउँछ भने बुझे हुन्छ, ऊ राष्ट्रवादलाई आफ्नो अपराध लुकाउने खोलका रूपमा प्रयोग गर्न खोज्दै छ ।

राज्यका सबै सार्वजनिक पदमा हुनेहरूले भ्रष्टाचार नगरी खटेर आम नागरिकको सेवा गर्ने हो भने राष्ट्रलाई बलियो बनाउन तिनले गर्न सक्ने त्यसभन्दा ठूलो काम अर्को छैन ।

नागरिकका हैसियतले आम मानिसको हितका पक्षमा जतिसक्दो काम गर्ने हाम्रो प्रयास रहँदै आएको छ । स्वास्थ्यसेवा र मेडिकल शिक्षा सुधारका लागि डडेल्धुरामा सोह्रौं सत्याग्रहमा रहेका बेला भारतले उल्लिखित नक्सा सार्वजनिक गरेलगत्तै हामीले सत्याग्रह स्थगित गरेका थियौं । त्यस क्रममा भारतका प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा हामीले भनेका थियौं, ‘देश ठूलो होस् वा सानो, बलियो होस् वा कमजोर, धनी होस् या गरिब, त्यहाँका नागरिकको मर्यादा र आत्मसम्मान ठूलो र सानो हुँदैन ।

अन्य देशले भारतको सीमा मिच्दा भारतीय नागरिकलाई जस्तो पीडा हुन्छ, कुनै पनि देशले नेपालको सीमा मिच्दा नेपालीलाई पनि त्यस्तै पीडा हुन्छ । नेपालमा भारतका अनेक सरोकार होलान् । खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ ।

तर नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ । अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् । विश्वका धेरै ठाउँमा उन्मूलनजस्तै भएका धेरै संक्रामक रोगको ठूलो भार हामीकहाँ छ ।

अशिक्षित र निरक्षर मानिसहरूको ठूलो संख्या पनि यसै क्षेत्रमा छ । अपेक्षित गतिमा अर्थतन्त्र विस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ । आज हजारौं माइल टाढा मरुभूमिमा जोखिमपूर्ण काममा न्यूनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन् । त्यसैले यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरू मिलेर लड्नु जरुरी छ । एकअर्काको सीमा मिच्ने, विद्वेष फैलाउने र अपमान गर्नेजस्ता कामले न आर्थिक क्षेत्रमा सहकार्य हुन सक्छ, न एकअर्काको राष्ट्रिय सुरक्षा नै सुनिश्चित हुन्छ ।’

जिम्मेवार नागरिकका हैसियतले हामी आज पनि नेपालीहरूको निःशुल्क र गुणस्तरीय स्वास्थ्यसेवा तथा मेडिकल शिक्षाका लागि लडिरहेका त छौं नै, देशको मर्यादा र स्वाभिमान पनि हाम्रा लागि उत्तिकै प्राथमिकताको विषय हो ।

नेपाल, भारत वा अन्य कुनै मुलुकमा नागरिकलाई आधारभूत सेवाबाट वञ्चित गरेर सुगाले झैं नारा मात्रै रट्ने मौसमी राष्ट्रवादमा हामीलाई विश्वास छैन । हामी सधैं नागरिकलाई सबल र स्वाभिमानी बनाउन तथा समाजलाई अगाडि बढाउन भूमिका खेल्ने असली राष्ट्रवादका पक्षमा छौं । तर देशलाई वास्तवमै बलियो र स्वाभिमानी बनाउन राज्य पक्षको जिम्मेवारी ठूलो हुन्छ । त्यो जिम्मेवारी वहनमा पूरै असफल भइसकेको अहिलेको सरकारलाई जवाफदेही बनाउन नागरिकका रूपमा जस्तोसुकै भूमिका खेल्न पनि हामी तयार छौं । कान्तिपुर दैनिकबाट साभार

मनपरे शेयर गरौ ! 

Related post